एनपीएलमा क्यानको गैरकानुनी धन्दा, पानीको बोतलमा रक्सी ब्रान्ड ‘Golden Oak’ को अवैध प्रचार

  • कालिका खवर
  • बुधबार, मंसिर ३, २०८२
  • काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) फेरि एकपटक गम्भीर विवादमा परेको छ। एनपीएल–२ को नाममा क्यानले देशमा पूर्णरूपमा प्रतिबन्धित मदिरा विज्ञापनलाई Surrogate Advertising का नाममा खुलेआम प्रचार गरिरहेको छ। स्टेडियम, मिडिया बक्स र अन्य स्थानमा गरिएका ‘Golden Oak Premium Drinking Water’ लेखिएका बोतलहरू वास्तवमा Golden Oak रक्सी ब्रान्डकै नक्कली आवरण प्रयोग गरेको प्रमाणसहित सार्वजनिक भएका छन्, जसले क्यानको नियतप्रति गम्भीर प्रश्न उठाएको छ।

    उक्त बोतलमा कानुनले माग्ने कुनै पनि विवरण उल्लेख नगरिनु अर्को ठूलो अनियमितता हो। पानीको नाममा वितरण गरिएका बोतलहरूमा कम्पनीको नाम, दर्ता नम्बर, उत्पादन मिति, मुल्यदर, ठेगाना लगायत कानुनी रूपमा अनिवार्य विवरणहरू उल्लेख नै छैनन्। यी सबै “Packaging and Labelling Regulation, 2077” को प्रत्यक्ष उल्लङ्घन हुन्। यस्तो अधुरो र गैरकानुनी लेबलसहितको उत्पादन सार्वजनिकस्थलमा वितरण गर्नु उपभोक्ता अधिकारको ठाडो हनन मानिन्छ।

    नेपालमा मदिरा तथा सुर्तीजन्य पदार्थको प्रत्यक्ष/अप्रत्यक्ष विज्ञापनमा पूर्ण प्रतिबन्ध छ। क्यानले पानीको बोतलमा रक्सी ब्रान्डको लोगो, नाम र पहिचान राखेर त्यो प्रतिबन्ध खुला चुनौती दिएको छ। राष्ट्रिय खेलकुद संस्थाकै भूमिकामा बसेर यस्तो अवैध प्रचार गर्नु “Public Health Act” र “Consumer Protection Act” दुवैको उल्लङ्घनमा पर्छ। क्यानले युवा र परिवार उपस्थित हुने प्रतियोगितामा मदिरा ब्रान्डको प्रचार गरेर खेलकुदको पवित्रता नै जोखिममा पारेको आरोप तीव्र रूपमा फैलिएको छ।

    यस प्रकरणले क्यानले कति आर्थिक लेनदेनमा यस्तो डिल गरेको हो भन्ने प्रश्न पनि उब्जिएको छ। यसअघि क्यानले Dafanews जस्ता ‘Surrogate company’ लाई भित्र्याएको आरोपसमेत लागेको थियो। अहिले फेरि Golden Oak जस्तो रक्सी ब्रान्डलाई पानीको आवरणमा लुकाएर प्रचार गरेपछि अवैध ब्रान्ड प्रमोशन, प्रतिबन्ध तोडिएको विज्ञापन र आर्थिक पारदर्शिताको गम्भीर शंका उठेको छ। क्यानका जिम्मेवार पदाधिकारी भने यस विषयमा मौन रहनुले थप संदेह बढाइरहेको छ।

    अब यो विवाद छानबिनको दायरामा लैजानुपर्ने माग तीव्र बन्दै गएको छ। उपभोक्ता संरक्षण विभाग, उद्योग विभाग, स्वास्थ्य सेवा विभाग, प्रहरीको मेट्रोलोजी शाखा तथा खेलकुद मन्त्रालयले तत्कालै छानबिन थाल्नुपर्ने जनमत बढेको छ। क्यानले पानीको नाममा रक्सीको ब्रान्डिङ गरेर गरेको कार्य कानूनविपरीत, अनैतिक, उपभोक्तामाथि धोका र खेलकुदको मर्यादा भत्काउने गम्भीर अपराध मानिएको छ, र यसले अब क्यानको विश्वसनीयतामाथि ठूलो प्रश्नचिह्न खडा गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar