एमालेले बोलायो सचिवालय बैठक, महाधिवेशन प्रतिनिधि छनोटको मापदण्ड तय गर्ने

  • कालिका खवर
  • मङ्लबार, कार्तिक ११, २०८२
  • काठमाडौँ । ११ औँ राष्ट्रिय महाधिवेशनको तयारीमा रहेको नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक कात्तिक १५ गतेलाई बोलाइएको छ । बैठकले महाधिवेशनसँग सम्बन्धित विभिन्न निर्णय गर्ने एमालेले जनाएको छ । पछिल्लो केन्द्रीय कमिटी बैठकले एघारौँ महाधिवेशन मङ्सिर २७–२९ मा पोखरामा गर्ने निर्णय गरेको थियो ।

    एमाले केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीका अनुसार कार्तिक १५ गते बस्ने सचिवालय बैठकले महाधिवेशन तयारीका बारेमा छलफल गर्नेछ । सो बैठकले महाधिवेशन प्रतिनिधि छनोट विधि,महाधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन,स्थानीय आयोजकसँग समन्वय आदिका बारेमा निर्णय गर्ने सचिवालयका एक नेताले जानकारी दिएका छन् । ती नेताका अनुसार सो बैठकले महाधिवेशन तयारीको पूर्ण खाका सार्वजनिक गर्नेछ । बैठकले महाधिवेशनको लोगो र नाराका विषयमा पनि छलफल गर्नेछ ।

    पार्टीको गण्डकी प्रदेश कमिटी,कास्की जिल्ला कमिटी र पोखरा महानगर कमिटीले महाधिवेशनको प्रारम्भिक तयारी सुरु गरिसकेका छन् । भदौ २४ गतेको विध्वंसमा च्यासल स्थित केन्द्रीय कार्यालय जलाइएपछि सोही ठाउँमा पाल टाँगेर अस्थायी कार्यालय सुरु गरिएको छ । उक्त कार्यालयबाट दैनिक कामका अतिरिक्त महाधिवेशन केन्द्रित काम पनि सुरु गरिएको डा.अधिकारीले जानकारी दिए ।

    एमालेमा झन्डै साढे ६ लाख पार्टी सदस्य रहेका छन् । पार्टी सदस्य सङ्ख्याका आधारमा महाधिवेशन प्रतिनिधि तय गर्ने बताइएको छ । यसअघि दसौँ महाधिवेशनमा १८ प्रतिनिधि छनोट भएकोमा यो पटक पार्टी सदस्य बढेकाले महाधिवेशन प्रतिनिधि पनि बढ्न सक्ने नेताहरूको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2025 kalikakhabar.com All right reserved Site By : Kalika Khabar