एकैदिन बैंकिङ प्रणालीबाट १४ अर्ब रुपैयाँ निकासी, निक्षेप घटेपनि कर्जा प्रवाहमा १ अर्ब वृद्धि

  • कालिका खवर
  • बिहिबार, कार्तिक १३, २०८२
  • काठमाडौं । बैंकिङ प्रणालीबाट एकैदिन १४ अर्ब रुपैयाँ बाहिरिएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप सो बराबरको रकमले घटेको हो।

    राष्ट्र बैंकका अनुसार गत सोमबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा जम्मा ७४ खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप रहेको थियो। तर त्यसको भोलिपल्ट, अर्थात् कात्तिक ११ गते मंगलबार, निक्षेप घटेर ७४ खर्ब ७५ अर्ब रुपैयाँमा झरेको छ।

    केन्द्रीय बैंकका अनुसार वाणिज्य बैंकहरूमा मात्र १४ अर्ब रुपैयाँ निक्षेप घटेको हो। सोमबारसम्म वाणिज्य बैंकहरूको निक्षेप ६७ खर्ब ३१ अर्ब रुपैयाँ रहेकोमा मंगलबार घटेर ६७ खर्ब १७ अर्ब रुपैयाँ पुगेको छ। यता, वित्त कम्पनीहरूमा भने हाल ७ खर्ब ५८ अर्ब रुपैयाँ निक्षेप रहेको छ।

    निक्षेप घटेपनि कर्जा प्रवाह भने सामान्य रूपमा बढेको देखिएको छ। एकैदिन बैंक तथा वित्तीय संस्थाहरूले १ अर्ब रुपैयाँ अतिरिक्त कर्जा प्रवाह गरेका छन्। सोमबारसम्म कुल कर्जा प्रवाह ५६ खर्ब ३४ अर्ब रुपैयाँ रहेकोमा मंगलबार बढेर ५६ खर्ब ३५ अर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ। सो कर्जा मुख्यतः वाणिज्य बैंकहरूले प्रवाह गरेका हुन्।

    हाल वाणिज्य बैंकहरूको कुल कर्जा प्रवाह ५० खर्ब १२ अर्ब रुपैयाँ पुगेको छ, जुन सोमबारसम्म ५० खर्ब ११ अर्ब रुपैयाँ मात्र थियो। त्यस्तै, वित्त कम्पनीहरूले हालसम्म ६ खर्ब २३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्।

    राष्ट्र बैंकका अनुसार हाल सीडी रेसियो (Credit to Deposit Ratio) ७४.५३ प्रतिशत कायम रहेको छ भने अन्तरबैंक ब्याजदर २.७५ प्रतिशत पुगेको छ।

    वित्तीय विश्लेषकहरूले निक्षेपमा आएको अचानक गिरावटलाई तात्कालिक तरलता व्यवस्थापन, सरकारी भुक्तानी तथा ठूलो परिमाणको निकासीसँग सम्बन्धित गतिविधिसँग जोडेर व्याख्या गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar