देशभरका जेष्ठ सिलाई उद्यमीलाई राष्ट्रिय सम्मान, नयाँ पुस्तालाई प्रेरणा दिने महासंघको पहल

  • कालिका खवर
  • बिहिबार, चैत्र ५, २०८२
  • काठमाडौं । नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघको ७औं स्थापना दिवसको अवसरमा आयोजित “जेष्ठ नागरिक सिलाई उद्यमी राष्ट्रिय सम्मान कार्यक्रम” आज चैत्र ५ गते काठमाडौंको सामाखुसीस्थित स्काइ रेस्ट्रो एण्ड ब्याङ्क्वेटमा सम्पन्न भएको छ। कार्यक्रम महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो।

    कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले विगतका कठिन दिन सम्झिँदै सिलाई पेशामा लाग्नु पहिले अत्यन्त चुनौतीपूर्ण रहेको उल्लेख गरे। “हामीभित्र लुकेको हिरा चिन्ने काम महासंघले गरेको छ,” उनले भने। उनले सिलाई पेशालाई विगतमा सानो जातसँग जोडेर हेर्ने र अपमान गर्ने प्रवृत्ति रहेको स्मरण गर्दै आजको दिनमा निरन्तर मिहिनेत, लगाव र परिश्रमका कारण उक्त पेशा परम्परागत सीमाभन्दा माथि उठेर ट्रेडिङ व्यवसाय, सोरुम, बुटिक हुँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म सम्मानित व्यवसायका रूपमा स्थापित भएको बताए।

    उनले काठमाडौं महानगरपालिकाका पुर्व मेयर बालेन शाह को उदाहरण दिँदै “आज बालेनको भन्दा बालेनले लगाएको कालो कोटको चर्चा बढी हुन्छ, त्यो हाम्रो मिहिनेतको परिणाम हो,” भन्दै कपडा तथा सिलाई व्यवसायको ब्रान्डिङमा सबैको योगदान रहेको उल्लेख गरे।

    कार्यक्रममा देशभरका जेष्ठ नागरिक सिलाई उद्यमीहरूलाई सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा दोलखाका ठगबहादुर नेपाली, कालिका सापकोटा, रसुवाका कृष्णबहादुर दर्जी, उजेली दमाई, नुवाकोटका रामजी दमाई, धनकुमारी नेपाली, काठमाडौंका कृष्ण परियार, रेनु परियार, धादिङका शंकर दर्जी, मिठु परियार, काभ्रेका रधुनाथ कपाली, बिना वल, भक्तपुरका सत्यनारायण दुलाल, कान्छी लक्ष्मी श्रेष्ठ, मकवानपुरका विण्णुलाल महर्जन, सुनिता नकर्मी, सिन्धुपाल्चोकका शेरबहादुर शिवाकोटी, कविता बस्नेत, ललितपुरका नवराज ढकाल, शान्ता लक्ष्मी बज्राचार्य, सिन्धुलीका बद्रीकुमार श्रेष्ठ र देविमाया परियार रहेका छन्।

    महासंघले यस्ता कार्यक्रममार्फत सिलाई पेशामा योगदान पुर्‍याएका अग्रजहरूलाई सम्मान गर्दै नयाँ पुस्तालाई प्रेरणा दिने उद्देश्य राखेको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar