देशभरका छुट्टाछुट्टै सडक दुर्घटनामा ६ जनाको मृत्यु

  • कालिका खवर
  • शुक्रबार, चैत्र १३, २०८२
  • काठमाडौँ : देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाले ज्यान गुमाएका छन्। कपिलवस्तु, दाङ, कैलाली, चितवन र रूपन्देहीमा भएका यी दुर्घटनामा पैदलयात्री, मोटरसाइकल चालक र साइकलयात्रीको मृत्यु भएको हो।

    कपिलवस्तुको शिवराज नगरपालिका-५ खैरीमा बा.९ च ९६२० नम्बरको गाडीको ठक्करबाट नुवाकोटका ३५ वर्षीय प्रकाश पुडासैनीको मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको चन्द्रौटास्थित अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो भने प्रहरीले फरार चालकको खोजी गरिरहेको छ।

    दाङको घोराही उपमहानगरपालिकामा मात्रै दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। घोराही-१० सौडिकुलामा रा.२ प ७२६५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा ३२ वर्षीय बेल बहादुर पुनको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ। त्यस्तै, घोराही-१३ कलंघारीमा रा.१ क १२९३ नम्बरको टिपरले ठक्कर दिँदा ५२ वर्षीया पैदलयात्री ज्योती पुनको घटनास्थलमै ज्यान गएको छ। प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिएको छ।

    कैलालीको धनगढीमा सु.प.प्र.०१-००११ प १३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई जोखरताल पुल नजिक दुर्घटना हुँदा २५ वर्षीय चालक महेश चौधरीको मृत्यु भएको छ। चितवनको भरतपुर-११ बर्मेलीचोकमा ‘अनटेष्ट’ लेखिएको कारले ठक्कर दिँदा ४७ वर्षीया साइकलयात्री नारायणी रेग्मीको नयाँ मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ।

    यस्तै, रूपन्देहीको मायादेवी गाउँपालिका-५ गुरबनियामा लु.३५ प ८८७१ नम्बरको मोटरसाइकलको ठक्करबाट ७५ वर्षीय पैदलयात्री बसन्त पालको ज्यान गएको छ। यी दुवै घटनाका कार र मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar