चलचित्र समीक्षा तथा चलचित्र पत्रकारिता सम्बन्धी ३ दिने तालिम सम्पन्न

  • कालिका खवर
  • बुधबार, जेष्ठ २७, २०८३
  • काठमाडौं । आइडिया ग्रोभको आयोजनामा तथा चलचित्र विकास बोर्ड को सहकार्यमा चलचित्र समीक्षा तथा चलचित्र पत्रकारिता सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ। अनामनगरस्थित सिलौटो कटेजमा आयोजित तालिम जेठ २५ गतेदेखि २७ गतेसम्म सञ्चालन गरिएको थियो।

    चलचित्र पत्रकारिताको गुणस्तर अभिवृद्धि गर्ने तथा चलचित्र समीक्षा लेखनलाई व्यावसायिक र जिम्मेवार बनाउन उद्देश्यले आयोजित तालिममा विभिन्न सञ्चारमाध्यममा आबद्ध २५ जना पत्रकारहरूको सहभागिता रहेको थियो।

    तालिममा चलचित्र समीक्षा, चलचित्र पत्रकारिताको वर्तमान अवस्था, समीक्षा लेखनका मापदण्ड, चलचित्रको कलात्मक तथा प्राविधिक पक्षको मूल्याङ्कनलगायत विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। कार्यक्रममा प्रशिक्षकका रूपमा राजेश गङ्गाजु, अखण्ड भण्डारी तथा शान्ताराम बिडारीले सहजीकरण गरेका थिए।

    समापन समारोहलाई सम्बोधन गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी ले चलचित्र क्षेत्रको विकासमा पत्रकारिताको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए। उनले चलचित्रको स्वस्थ समीक्षा र तथ्यपरक पत्रकारिताले नेपाली चलचित्र उद्योगलाई थप सशक्त बनाउन सहयोग पुग्ने उल्लेख गरे।

    अध्यक्ष डिसीले पत्रकारहरूलाई चलचित्रको सकारात्मक र आलोचनात्मक पक्षलाई सन्तुलित रूपमा प्रस्तुत गर्न आग्रह गर्दै यस्ता तालिमले चलचित्र पत्रकारितामा नयाँ ऊर्जा र व्यावसायिकता थप्ने विश्वास व्यक्त गरे। उनले भविष्यमा पनि चलचित्र पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि बोर्डले आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

    आयोजक आइडिया ग्रोभका प्रतिनिधिहरूले तालिमले सहभागी पत्रकारहरूलाई चलचित्र समीक्षा तथा पत्रकारिताको व्यावहारिक ज्ञान हासिल गर्न महत्वपूर्ण अवसर प्रदान गरेको बताएका छन्। तीन दिनसम्म सञ्चालन भएको तालिम अनुभव आदानप्रदान, अन्तरक्रिया र अभ्यासमूलक सत्रसहित सम्पन्न भएको थियो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar