भोटेकोशी विपद्लक्षित खाद्य अनुगमन तीव्र, बासी पिठोबाट समोसा बेच्ने पसलविरुद्ध मुद्दा

  • कालिका खवर
  • बिहिबार, भदौ १८, २०८३
  • दमौली । भोटेकोशी विपद्लाई लक्षित गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीले तनहुँ, गोरखा तथा आसपासका क्षेत्रमा खाद्य पदार्थको गुणस्तर, राहत सामग्रीको सुरक्षा तथा बजार अनुगमनलाई तीव्र बनाएको छ। अनुगमनका क्रममा बासी पिठोबाट समोसा बनाई बिक्री गर्ने तथा उपभोग्य मिति समाप्त भएका पेय पदार्थ बिक्रीका लागि राख्ने एक मिठाई पसलविरुद्ध मुद्दा दर्ताको प्रक्रिया अघि बढाइएको छ।

    खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जारी गरेको प्रतिवेदनअनुसार भदौ ११ गतेदेखि भदौ १७ गतेसम्म विभिन्न जिल्लामा विपद्लक्षित कार्यक्रम सञ्चालन गरिएको हो। यस अवधिमा जिल्ला प्रशासन, स्थानीय तह, सुरक्षा निकाय, उद्योग वाणिज्य संघ तथा अन्य सरोकारवाला निकायसँग समन्वय गरी राहत खाद्य सामग्री तथा बजारको अनुगमन गरिएको जनाएको छ।

    भदौ १२ गते पृथ्वी राजमार्गअन्तर्गत बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारका होटल तथा खाजाघरमा संयुक्त अनुगमन गरिएको थियो। अनुगमनका क्रममा बासी पिठोबाट समोसा बनाई बिक्री गर्ने तथा उपभोग्य मिति समाप्त भएका पेय पदार्थ बिक्रीका लागि राख्ने एक मिठाई पसलविरुद्ध खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम मुद्दा उठान गरिएको विभागले जनाएको छ।

    सोही क्रममा उपभोग्य मिति समाप्त भएका करिब ३ हजार ५ सय रुपैयाँ बराबरका खाद्य पदार्थ नष्ट गरिएको थियो। विपद्का बेला बाटोमा अलपत्र परेका यात्रुलाई उचित मूल्यमा गुणस्तरीय खाना उपलब्ध गराउन व्यवसायीलाई सचेतसमेत गराइएको छ।

    भदौ १४ गते तनहुँ जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा सहभागी भई राहत तथा उद्धारसम्बन्धी विभिन्न विषयमा छलफल गरिएको थियो। बैठकले पीडितको सहयोगका लागि संकलन हुने नगद रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिधै जम्मा गर्ने तथा जिन्सी र खाद्यान्न सामग्री तनहुँ उद्योग वाणिज्य संघ दमौलीको समन्वयमा संकलन र भण्डारण गर्ने निर्णय गरेको जनाएको छ।

    राहतका रूपमा संकलन हुने खाद्य पदार्थको खाद्य स्वच्छता तथा गुणस्तर परीक्षण खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट गराउने निर्णयसमेत भएको छ।

    भदौ १५ गते गोरखा जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको नेतृत्वमा बजार अनुगमन गरिएको थियो। खाना पकाउने ग्यासको तौलमा ठगी गरेको आरोपमा एक व्यवसायीविरुद्ध कारबाहीका लागि सिफारिस गरिएको जनाइएको छ।

    अनुगमन टोलीले पानी, दूधजस्ता संवेदनशील खाद्य पदार्थको गुणस्तरमाथि विशेष निगरानी राख्ने तथा चाडपर्व नजिकिँदै गर्दा कालोबजारी हुन सक्ने चिनी, जिरा र अन्य खाद्यान्नको आपूर्ति, भण्डारण, परिमाण तथा गुणस्तरमा सघन अनुगमन गर्ने निर्णय गरेको छ।

    भदौ १६ गते गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठसँग भेट गरी विपद् प्रभावित क्षेत्रमा पठाइने राहत खाद्य सामग्रीको उपभोग्य अवधि, प्याकेटको अवस्था तथा गुणस्तरमा विशेष ध्यान दिन आग्रह गरिएको थियो। गुणस्तरमा शंका लागेमा खाद्य डिभिजन कार्यालय दमौलीमार्फत परीक्षण गराउनसमेत अनुरोध गरिएको छ।

    यसैगरी गोरखा जिल्लामा चिनी, मसला तथा अन्य खाद्यान्नका गोदामको संयुक्त अनुगमनसमेत सम्पन्न गरिएको प्रतिवेदनमा उल्लेख छ।

    भदौ १७ गते तनहुँमा संकलन भइरहेको राहत सामग्रीको विषयमा तनहुँ जिल्ला उद्योग वाणिज्य संघका प्रतिनिधिसँग छलफल गरी सामग्री संकलन भएपछि खाद्य सामग्रीको गुणस्तर सुनिश्चित गर्न निरीक्षण गर्ने निर्णय गरिएको थियो।

    प्रतिवेदनअनुसार विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)सँग समन्वय गरी राहतका लागि पठाइएका चामल, तेल, नुन तथा हाई इनर्जी बिस्कुटलगायत खाद्य सामग्रीको गुणस्तर परीक्षण तथा विश्लेषण गरिएको जानकारीसमेत प्राप्त भएको छ। ती सामग्री प्रभावित क्षेत्र रसुवा, धादिङ र नुवाकोटमा पठाइएको जनाइएको छ।

    वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बालकुमारी शर्माद्वारा जारी प्रतिवेदनमा भोटेकोशी विपद्पछि राहतका रूपमा वितरण हुने खाद्य सामग्री सुरक्षित, गुणस्तरीय तथा उपभोगयोग्य बनाउने उद्देश्यले अनुगमन तथा निरीक्षणका कार्यक्रमलाई निरन्तरता दिइएको उल्लेख गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar