भोटेकोशी बाढीपीडितका लागि पठाइने राहत खाद्य सामग्रीको निरन्तर अनुगमन

  • कालिका खवर
  • मङ्लबार, भदौ ३०, २०८३
  • काठमाडौं । भोटेकोशी बाढीपीडितका लागि पठाउन तयार पारिएका राहत खाद्य सामग्रीको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले निरन्तर निरीक्षण तथा अनुगमन गरिरहेको छ।

    स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम २०८३/०५/२९ गते काठमाडौंका दुई स्थानमा राहत खाद्य सामग्रीको अनुगमन गरेको हो।

    विभागका अनुसार राधास्वामी सत्सङ्ग, सामाखुसीमा जीरा मसिनो चामल, चना, चना फ्लेक्स, बिस्कुटलगायतका खाद्य सामग्री भोटेकोशी बाढीपीडितका लागि पठाउन तयार पारिएको अवस्थामा भेटिएको थियो। अनुगमनका क्रममा ती खाद्य सामग्रीको लेबलमा ब्याच नम्बर, उत्पादन तथा प्याकेजिङ गर्ने उद्योगको नाम र ठेगाना उल्लेख भएको तथा उपभोग्य मिति समाप्त नभएको पाइएको विभागले जनाएको छ।

    यसअघि सोही स्थानमा गरिएको अनुगमनका क्रममा दालमोठ, भुजा, काबुली चना, चिउरालगायतका खाद्य सामग्री पनि राहतका लागि पठाउन तयार पारिएको पाइएको थियो। त्यसमध्ये विवरणमा उल्लेख भएको मिक्स दालको थप अनुसन्धान गर्नुपर्ने देखिएको विभागले जनाएको थियो। सम्बन्धित उत्पादक वा प्याकिङ गर्ने फर्ममाथि आवश्यक कारबाहीका लागि थप अनुगमन गर्नुपर्ने विभागको निष्कर्ष थियो।

    त्यसैगरी, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, थापाथलीमा फोर्टिफाइड स्टिम जीरा मसिनो चामल, मुसुरो दाल, सूर्यमुखी तेल, आयोनुनलगायतका खाद्य सामग्री राहतका लागि पठाउन तयार पारिएको पाइएको छ। ती सामग्रीको लेबलमा ब्याच नम्बर, उत्पादन तथा प्याकेजिङ गर्ने उद्योगको नाम र ठेगाना उल्लेख भएको तथा उपभोग्य मिति कायम रहेको विभागले जनाएको छ।

    विभागले राहत खाद्य सामग्री वितरण गर्दा असल वितरण अभ्यास (Good Distribution Practice) अनिवार्य रूपमा पालना गर्न निर्देशन दिएको छ। राहतका नाममा वितरण हुने खाद्य सामग्री सुरक्षित, गुणस्तरीय र उपभोगका लागि उपयुक्त रहेको सुनिश्चित गर्न विभागले अनुगमनलाई निरन्तरता दिएको जनाएको छ।

    विभागका अनुसार २०८३/०५/२९ गते राहत सामग्री राखिएका दुई स्थान अनुगमन गरिएको हो। अनुगमनसम्बन्धी विवरण वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बालकुमारी शर्माले २०८३/०५/३० मा सार्वजनिक गरेकी हुन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar