भदौ २३ र २४ को घटनाले देशलाई दशकौँ पछाडि धकेल्यो : शंकर पोखरेल

  • कालिका खवर
  • सोमवार, कार्तिक २४, २०८२
  • काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गत भदौ २३ र २४ गतेको घटनाले देशलाई दशकौँ पछाडि धकेलेको बताएका छन् । सोमबार घर फर्क राष्ट्रिय अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले वर्तमान सरकार प्रतिशोधको दृष्टिकोणबाट अघि बढ्न खोजिरहेको आरोप लगाए । उनले यसले समाजलाई सही दिशा प्रदान गर्न नसक्ने बताए ।

    प्रतिगमनकारी षड्यन्त्रलाई पराजित गर्न नसके मुलुकको लोकतन्त्र सही दिशामा अघि बढ्न नसक्ने जिकिर गरे ।प्रतिगमनलाई पराजित गर्न विघटित प्रतिनिधि सभालाई पुनःस्थापना आवश्यक रहेको बताए । राजनीतिक दलहरू छलफलमा उपयुक्त बाटो प्रतिनिधि सभाको पुनःस्थापना भन्ने गरिरहेको तर भन्न डराइरहेको महासचिव पोखरेलले बताए । अहिलेको अवस्थामा फागुन २१ मा निर्वाचन हुन नसक्ने बताए ।

    उनले भने,‘वर्तमान सरकार प्रतिशोधको दृष्टिकोणबाट अघि बढ्न खोजिरहेको छ । यसले समाजलाई सही दिशा प्रदान गर्न सक्दैन । हाम्रो पार्टीको मान्यता छ, २३ र २४ गतेको घटनाले मुलुकलाई अगाडि होइन, दशकौँ पछाडि धकेल्ने काम भएको छ । प्रतिगमनकारी षड्यन्त्रलाई हामीले पराजित गर्न सकेनौँ भने मुलुकको लोकतान्त्रिक दिशा सही बाटोमा अगाडि बढ्न सक्दैन ।

    प्रतिगमनलाई पराजित गर्न विघटित प्रतिनिधि सभालाई पुनःस्थापना गर्नुपर्दछ । त्यो हाम्रो एजेण्डा हो । भन्न राजनीतिक दलहरू भित्र छलफलमा भन्ने गर्नुहुन्छ, सबैभन्दा उपयुक्त बाटो त प्रतिनिधि सभाको पुनःस्थापना नै हो । तर अहिले भन्न मिल्दैन । के भय छ ? अहिलेको अवस्थामा फागुन २१ गते चुनाव हुनसक्छ भन्ने कुरामा विश्वास गर्नुहुन्छ ? चुनाव हुने वातावरण त छैन तर चुनावलाई अस्वीकार गर्न सकिँदैन के भनेको ?’ महासचिव पोखरेलले घर फर्क अभियानको शुभारम्भ भएको आगामी दिनमा यसले निरन्तरता पाउने बताए । उनले एमाले वैचारिक, राजनीतिक रूपमा स्पष्ट रहेको पनि बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar