भागावन पदमार्गमा रोपियो १ सय ८ रुद्राक्ष, प्राकृतिकसँगै आध्यात्मीक थलो बन्ने विश्वास

  • कालिका खवर
  • सोमवार, भदौ १५, २०८३
  • ललितपुर – गोदावरी नगरपालिका वडा नम्बर १० स्थीत भागावन पदमार्गमा १ सय ८ वटा रुद्राक्षका विरुवा रोपिएको छ । रमणीय पर्यटन सहकारी संस्था लिमीटेड , लायन्स क्लब अफ काठमाडौं महिमा र वडा नम्बर १० को संयुक्त आयोजनामा पदमार्ग तथा प्रस्तावित हनुमान मन्दिर र पार्कको छेउछाउमा रुद्राक्षको विरुवा रोपिएको हो ।

    सीर्जनसीप सेवा प्रालि र नेप्को सेवा प्रालिको पनि सहकार्य रहेको वृक्षारोपण कार्यक्रममा पुरोहित शान्तमणी चालिसेको वैदिक मन्त्र उच्चारणसहित वडा अध्यक्ष शेखर न्यौपानेले रुद्राक्षको विरुवा रोपेर शुभारम्भ गरेका थिए ।

    महानगरीय प्रहरी वृत्त चापागाउँका डिएसपी निरु थापा, रमणीय सहकारीका अध्यक्ष रुपेश तिमल्सीना, लायन्स क्लब अफ काठमाडौं महिमाका अध्यक्ष पुरुषोत्तम तिमल्सीना, गोदावरी नगर प्रहरी प्रमुख उत्सव विष्ट, जिल्ला सहकारी संघ ब्यवस्थापक मनु जिसी, पत्रकार एवं समाजसेवी नवीन लुईटेल लगायतले रुद्राक्षको विरुवा रोपेका थिए ।

    वृक्षारोपण कार्यक्रममा लायन्स लिडरहरु, रमणीय सहकारीका पदाधिकारी तथा सदस्यहरु, नगर प्रहरी , नेपाल प्रहरी , सीर्जनसीप र नेप्कोका प्रतिनिधी र स्थानीय गरी ५० भन्दा बढिको सहभागीता रहेको थियो ।


    वृक्षारोपणको अघिल्लो दिन बृहत सरसफाईसहित १ सय ८ रुद्राक्षको विरुवाका लागि खाल्डो खन्ने काम भएको थियो । वृक्षारोपणकै क्रममा रमणीय पर्यटन सहकारी संस्था लिमीटेड र लायन्स क्लब अफ काठमाडौं महिमाबीच आगामी दिनमा सहकार्य गर्दै विभिन्न कार्यक्रम संचालन गर्ने सम्झौता पत्रमा हस्ताक्षर पनि भएको छ ।

    सीर्जनसीपका एलपि दबाडीले वृक्षारोपणको कार्यक्रम संचालन गरेका थिए । वृक्षारोपण कार्यक्रममा बोल्दै वडा अध्यक्ष शेखर न्यौपानेले सरसफाई र वृक्षारोपण जस्ता कार्यक्रमले निरन्तरता पाउने वचन दिए । उनले रुद्राक्षको विरुवा रोपेसँगै प्राकृतिकसँगै आध्यात्मीक थलो बन्ने विश्वास पनि ब्यक्त गरे । उनले रोपिएको विरुवाको संरक्षण पनि महत्वपूर्ण भएको बताए ।

    यस्तै रमणीय सहकारीका अध्यक्ष रुपेश तिमल्सीनाले पर्यावरण जोगाउने अभियानमा स्थानीय तहबाट पाएको सहयोगको प्रशंशा गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम गरिरहने प्रतिवद्धता जनाए ।

    यसअघि यहि पदकमार्गमा साउनको १६ गते र साउनको २३ गते शनिवारका दिन सरसफाई गरिएको थियो । बागेश्वरी मन्दिरको प्राङ्गणबाट सुरु भएको सरसफाई पदमार्गको अन्तिम भागसम्म गरिएको थियो ।

    सरसफाइका क्रममा फोहोरमैला ब्यवस्थापनदेखि लिएर निर्माणाधिन हनुमान मन्दिरसहित प्रतिक्षालय र आराम गर्ने कुर्सीहरुमा भरीएका काँडा र बोट विरुवा लगायतका वनस्पतीले छोपिएका झाडी पन्छाएर सफा पारीएको थियो । यस्तै सिढीँका लेउ र माटो सफा गर्नुका साथै वरपर भेटिएका प्लाष्टिकका खोल र पेय पदार्थको बोतल संकलन गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar