बागमती मन्त्रिपरिषद्को निर्णय : यातायात सुधार समिति गठन

  • कालिका खवर
  • बुधबार, मंसिर १०, २०८२
  • हेटौँडा । बागमती प्रदेश सरकारले यातायात क्षेत्र सुधारका लागि विज्ञ समूहको समिति गठन गरेको छ । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले यातायात क्षेत्रको समस्या हाल गर्न र सेवामा सुधार गर्न उक्त समिति गठन गरेको हो ।

    बैठकले श्रम, रोजगार तथा यातायात मन्त्रालयको प्रस्तावमा ‘बागमती प्रदेश यातायात क्षेत्र पुनरावलोकन तथा सुधार सुझाव समिति’ गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले जानकारी दिए ।

    बैठकले उक्त समितिको कार्यक्षेत्रगत सर्त समेत स्वीकृत गरेको छ । प्रदेशको यातायात व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न र नीतिगत सुधार गर्न आवश्यक सुझाव दिने गरी उक्त समितिले काम गर्न उनको भनाई छ ।

    ६ क्याम्पसलाई आङ्गिक बनाउन स्वीकृति

    प्रदेशमा उच्च शिक्षाको पहुँच विस्तार गर्ने उद्देश्यले प्रदेशका ६ क्याम्पसलाई बागमती विश्वविद्यालयको आङ्गिक क्याम्पस बनाउन स्वीकृति प्रदान गरेको छ । सामाजिक विकास मन्त्रालयको प्रस्तावमा प्रदेशका ६ वटा सामुदायिक क्याम्पसहरूलाई बागमती प्रदेश विश्वविद्यालयको आङ्गिक क्याम्पसका रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गरिएको प्रवक्ता तामाङले बताए ।

    सो निर्णयसँगै प्रदेश विश्वविद्यालयको संरचनाभित्र रही उक्त क्याम्पसहरू सञ्चालन हुनेछन् । बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा घनश्याम गुरागाईंको अनिवार्य अवकाश स्वीकृत गर्ने निर्णय भएको छ । उमेर हदका कारण उनले आगामी २०८२ मङ्सिर २७ गतेदेखि लागू हुने गरी अनिवार्य अवकाश पाउने छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar