बाढीपीडितको राहतका लागि कृषि विकास बैंकका कर्मचारीद्वारा १ करोड ५३ लाख सहयोग

  • कालिका खवर
  • मङ्लबार, भदौ ३०, २०८३
  • काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि कृषि विकास बैंक लिमिटेडका कर्मचारीहरूले रु. १ करोड ५३ लाखभन्दा बढी आर्थिक सहयोग गरेका छन्।

    बैंकका प्रमुख कार्यकारी अधिकृत, उपमहाप्रबन्धक, विभागीय प्रमुखदेखि सहयोगी कर्मचारीसम्मले आफ्नो तलब तथा भत्ताबाट रकम जुटाएर ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा कुल रु. १,५३,९५,०२२ सहयोग गरेका हुन्।

    बैंकका तर्फबाट सञ्चालक समिति अध्यक्ष टंकप्रसाद पाण्डे र निमित्त प्रमुख कार्यकारी अधिकृत प्रताप सुवेदीले उक्त रकमको चेक नेपाल सरकारका अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका छन्। चेक हस्तान्तरण कार्यक्रममा बैंकका उपमहाप्रबन्धक सुशिल हुमागाईं, मार्केटिङ एण्ड सेल्स विभागकी विभागीय प्रमुख बीना शर्मा तथा जनशक्ति व्यवस्थापन विभागका विभागीय प्रमुख अजय रिमालको समेत उपस्थिति थियो।

    यसअघि कृषि विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोषबाट ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा रु. ३ करोड योगदान गरिसकेको छ। त्यस्तै, बाढीबाट प्रभावित नागरिकका लागि रु. १० लाख बराबरको खाद्यान्न तथा राहत सामग्री प्रत्यक्ष रूपमा हस्तान्तरण गरिसकेको बैंकले जनाएको छ।

    देशमा आइपर्ने प्राकृतिक विपद्का समयमा पीडित परिवारलाई राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले बैंकले संस्थागत रूपमा तथा कर्मचारीहरूले व्यक्तिगत स्तरबाट निरन्तर सहयोग गर्दै आएको जनाइएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar