बाढीपहिरो पीडितका लागि सुनचाँदी तथा आभूषण महासंघले जुटायो ४० लाखभन्दा बढी राहत कोष

  • कालिका खवर
  • मङ्लबार, अशोज ६, २०८३
  • काठमाडौं । देशभर हालै गएको बाढी, पहिरो तथा डुबानबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनरुत्थानका लागि नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले ४० लाख रुपैयाँभन्दा बढीको राहत कोष सङ्कलन गरेको छ।

    प्राकृतिक विपत्तिका कारण घरबारविहीन तथा संकटमा परेका परिवारलाई प्रत्यक्ष सहयोग पुर्‍याउने उद्देश्यले महासंघले राहत सङ्कलन अभियान सञ्चालन गरेको हो। अभियान राहत सङ्कलन तथा व्यवस्थापन संयोजक निरबहादुर विश्वकर्माको नेतृत्वमा अघि बढाइएको महासंघले जनाएको छ।

    संयोजक विश्वकर्माका अनुसार विपद्पछि प्रभावित क्षेत्रका नागरिकलाई मानवीय सहायता उपलब्ध गराउन महासंघका सदस्य, संस्थागत दाता, व्यवसायी तथा विभिन्न सामाजिक अभियन्तालाई समेटेर तीव्र रूपमा राहत कोष सङ्कलन गरिएको हो।

    सङ्कलित रकमबाट आवश्यक राहत सामग्री खरिद गरी प्रभावित क्षेत्रमा पुगेर प्रत्यक्ष वितरण गर्ने योजना रहेको छ। प्रारम्भिक चरणमा चामल, दाल, तेल, नुनलगायत खाद्यान्न, त्रिपाल, म्याट, लत्ताकपडा, खानेपानी तथा आपत्कालीन प्राथमिक उपचारका औषधि वितरण गरिने संयोजक विश्वकर्माले बताउनुभयो।

    विश्वकर्माले विपद्को समयमा पीडितलाई सहयोग गर्नु सबैको सामाजिक तथा मानवीय दायित्व भएको बताउँदै सङ्कलित रकम र सामग्री पारदर्शी रूपमा वास्तविक पीडितसम्म पुर्‍याउने गरी वितरणको समन्वय भइरहेको जानकारी दिनुभयो।

    महासंघले राहत कोषमा योगदान गर्ने सम्पूर्ण दाता, सामाजिक संघसंस्था तथा स्वयंसेवकप्रति धन्यवाद व्यक्त गरेको छ। साथै, बाढी तथा पहिरोबाट क्षतिग्रस्त बस्तीमा राहत वितरणसँगै दीर्घकालीन पुनःस्थापनाका लागि आगामी दिनमा पनि निरन्तर पहल र समन्वय गर्ने जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar