ब्राेड पिकमा दुई शव फेला, खोजी तथा उद्धारका लागि पाकिस्तानी सेनाका दुई हेलिकोप्टर परिचालन

  • कालिका खवर
  • शुक्रबार, साउन १५, २०८३
  • काठमाडाैँ । पाकिस्तानको काराकोरम हिमशृंखलास्थित ८,०४७ मिटर अग्लो ब्रोड पिकमा हिमपहिरोपछि सम्पर्कविहीन भएका आरोहीहरूमध्ये दुई जनाको शव फेला परेको दाबी गरिएको छ। आरोहण व्यवस्थापन गरिरहेको सेभेन समिट ट्रेक्सले घटनास्थलमा दुई शव फेला परेको जनाएको हो। यद्यपि शव कसका हुन् भन्ने पहिचान भने अझै हुन बाँकी छ।

    यसैबिच, बेपत्ता आरोहीहरूको खोज तथा उद्धारका लागि पाकिस्तान सेनाले दुईवटा उद्धार हेलिकोप्टर परिचालन गरेको छ। पाकिस्तानको अल्पाइन क्लबका अनुसार उद्धारकर्मी र विशेष उपकरण बोकेका हेलिकोप्टरहरू उच्च हिमाली क्षेत्रमा जारी खोज तथा उद्धार अभियानमा सहयोग गर्न पठाइएको हो।

    नजिकैका के–२ र के–३ हिमालमा रहेका आरोहीहरू पनि ब्राेड पिकमा खोजी अभियानमा सहयोग गर्न अघि बढेका छन्। नेपालका सांसद मिङ्मा ग्याबु शेर्पाका अनुसार उनीहरू आफ्ना क्याम्पबाट तल झरेर खोजीमा सहभागी भइरहेका छन्। इम्याजिन नेपालका आरोहीहरू पनि अभियानमा सहयोग गरिरहेका छन्।

    प्रख्यात नेपाली आरोही निर्मल पुर्जाको ट्र्याकिङ उपकरणमा गतिविधि देखिएको रिपोर्ट आए पनि उक्त गतिविधि बिहीबार नै रेकर्ड भएको शेर्पाले बताएका छन्।

    अल्पाइन क्लबका अनुसार हिमपहिरोमा परेको आरोहण टोलीमा १० जना थिए। टोलीमा निर्मल पुर्जाको नेतृत्वमा पाँच नेपाली आरोही, एक पाकिस्तानी, एक ओमानी, एक अमेरिकी, एक चिनियाँ र एक अन्य विदेशी आरोही छन्। हिमपहिरोपछि उनीहरू सबैसँग सम्पर्क विच्छेद भएको थियो।

    अल्पाइन क्लबका अध्यक्ष मेजर जनरल इरफान अरशदसहित वरिष्ठ अधिकारीहरूले सरकारी निकाय र सम्बन्धित एजेन्सीसँग समन्वय गरिरहेका छन्। मौसम र परिचालन अवस्था अनुकूल भए उद्धारका थप स्रोत परिचालन गरिने क्लबले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar