घरजग्गा तथा निर्माण क्षेत्रलाई चलायमान बनाउन ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • कालिका खवर
  • आइतवार, मंसिर ६, २०८३
  • चितवनमा मंसिर २५ देखि २७ गतेसम्म सञ्चालन हुने एक्स्पोमा ६० भन्दा बढी स्टल, २५ हजार अवलोकनकर्ता सहभागी हुने अपेक्षा

    काठमाडौं । सुस्ताउँदै गएको घरजग्गा तथा निर्माण क्षेत्रलाई पुनः चलायमान बनाउने उद्देश्यसहित ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ को दोस्रो संस्करण आयोजना हुने भएको छ। घरजग्गा व्यवसायमा लगानी प्रवर्द्धन, सुरक्षित तथा गुणस्तरीय आवास निर्माण र आधुनिक निर्माण प्रविधिबारे जानकारी दिने लक्ष्यसहित एक्स्पो आयोजना गर्न लागिएको हो।

    नारायणी जग्गा तथा आवास व्यवसायी संघ, भि ग्रुप र एसवन होम्सको संयुक्त आयोजनामा आगामी मंसिर २५ देखि २७ गतेसम्म (डिसेम्बर ११–१३, २०२६) चितवन उद्योग संघको एक्स्पो सेन्टर, भरतपुरमा तीनदिने एक्स्पो सञ्चालन हुनेछ।

    पछिल्लो समय आर्थिक मन्दी, लगानीको अभाव, वैदेशिक रोजगारीमा युवाको बढ्दो आकर्षण तथा प्रतिकूल व्यावसायिक वातावरणका कारण घरजग्गा तथा निर्माण क्षेत्रमा कारोबार सुस्ताएको आयोजकको भनाइ छ। यस्तो अवस्थामा स्वदेशमै लगानीका सम्भावना खोज्ने, व्यवसायलाई पुनः गति दिने र निर्माण क्षेत्रका सरोकारवालालाई एउटै प्लेटफर्ममा जोड्ने उद्देश्य एक्स्पोले राखेको छ।

    एक्स्पोमा आधुनिक घर निर्माण सामग्री, प्रविधि, घरजग्गा तथा आवास परियोजना, निर्माण कम्पनी र विभिन्न निर्माण सेवासम्बन्धी उत्पादन तथा सेवाहरू प्रदर्शन गरिनेछ। साथै भवन निर्माण संहिता, सरकारी मापदण्ड, गुणस्तर र सुरक्षित आवाससम्बन्धी जानकारीसमेत प्रदान गरिने आयोजकले जनाएको छ।

    कार्यक्रममा सरकारी निकायका प्रतिनिधि, निजी क्षेत्रका व्यवसायी, इन्जिनियर, आर्किटेक्ट तथा विषयविज्ञबीच अन्तरक्रिया, परामर्श र छलफलका कार्यक्रम सञ्चालन हुनेछन्। घरजग्गा खरिदकर्ता र विक्रेताबीच प्रत्यक्ष सम्पर्क तथा व्यावसायिक सम्बन्ध विस्तार गर्ने अवसरसमेत उपलब्ध हुनेछ।

    आयोजकका अनुसार एक्स्पोमा देशभरका घरजग्गा व्यवसायी, निर्माण कम्पनी तथा निर्माण सामग्री उत्पादक र विक्रेतासहित विभिन्न क्षेत्रका ६० भन्दा बढी स्टल रहनेछन्। तीन दिनसम्म सञ्चालन हुने एक्स्पोमा करिब २५ हजार अवलोकनकर्ता सहभागी हुने अपेक्षा गरिएको छ। इच्छुक प्रदर्शकका लागि स्टल बुकिङसमेत खुला गरिएको छ।

    विशेषगरी चितवनलगायत सम्भावनायुक्त जिल्लामा घरजग्गा तथा निर्माण क्षेत्रमा लगानी आकर्षित गर्दै आर्थिक गतिविधि बढाउने एक्स्पोको लक्ष्य छ। विदेशमा सीप र अनुभव हासिल गरेका नेपाली युवालाई स्वदेशमै फर्किएर उद्यम तथा व्यवसाय सञ्चालन गर्न प्रेरित गर्नुका साथै रोजगारीका नयाँ अवसर सिर्जना गर्न पनि यसले सहयोग पुर्‍याउने आयोजकको विश्वास छ।

    निर्माण कम्पनी, निर्माण सामग्री उत्पादक तथा विक्रेता, घरजग्गा व्यवसायी, इन्जिनियर, आर्किटेक्ट, लगानीकर्ता, विद्यार्थी तथा सर्वसाधारणले एक्स्पोबाट लाभ लिन सक्नेछन्। सर्वसाधारणका लागि प्रवेश निःशुल्क रहने आयोजकले जनाएको छ।

    आयोजकले ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ लाई घरजग्गा तथा निर्माण सामग्रीको प्रदर्शनीमा मात्र सीमित नराखी सुरक्षित आवास, आधुनिक प्रविधि, स्वदेशी लगानी र उद्यमशीलतामार्फत आर्थिक समृद्धिको सम्भावना उजागर गर्ने साझा अभियानका रूपमा अघि बढाएको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar