गणेश र भैरवका लागि छुट्टै निवास निर्माणले जीवित सम्पदा संरक्षणमा योगदान पुग्छ : कार्यवाहक प्रमुख डंगोल

  • कालिका खवर
  • शनिबार, मंसिर ५, २०८३
  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले श्री गणेश र श्री भैरवका लागि छुट्टै निवास निर्माणले जीवित सम्पदा संरक्षणमा महत्त्वपूर्ण योगदान पुग्ने बताएकी छन् ।

    शनिवार हनुमानढोका दरबार क्षेत्रमा आयोजित शिलान्यास कार्यक्रममा बोल्दै डंगोलले जीवित देवी कुमारीसँगै गणेश र भैरवका लागि पनि छुट्टै निवास आवश्यक रहेको बताएकी हुन् । इन्द्रजात्रालगायतका सांस्कृतिक पर्वमा जीवित देवीदेवताको रथयात्रा हुने भएकाले गणेश र भैरवको गरिमाअनुसारको निवास निर्माण महत्त्वपूर्ण रहेको उनले उल्लेख गरिन् ।

    काठमाडौँको ऐतिहासिक वसन्तपुरस्थित कुमारी घरसँगै श्री गणेश र श्री भैरवका लागि छुट्टै भवन निर्माण गर्न लागिएको हो । विभिन्न कालखण्डमा राजनीतिक तथा सांस्कृतिक परिवर्तन भए पनि सरोकारवालाले यस विषयलाई निरन्तर उठाउँदै आएको डंगोलले बताइन् । भवन निर्माणका लागि लामो प्रशासनिक प्रक्रिया पूरा गर्नुपरेको र पुरानो संरचना भत्काउनसमेत निकै प्रयास गर्नुपरेको उनले जानकारी दिइन् ।

    शिलान्याससम्म आइपुग्दाका प्रयास र निर्माणको आवश्यकता औँल्याउँदै डंगोलले भनिन्, ‘आजको यो शिलान्याससम्म आइपुग्न भवन भत्काउनेदेखि विभिन्न प्रशासनिक प्रक्रिया पूरा गर्न र सरोकारवाला निकायसँग समन्वय, परामर्श तथा सहकार्य गर्न लामो प्रयास गर्नुपरेको छ । पूर्व गणेश र भैरवका पुजारी तथा अग्रजहरूको योगदानले पनि यस कार्यलाई अघि बढाउन महत्त्वपूर्ण भूमिका खेलेको छ ।’

    नयाँ भवन निर्माणले जीवित सम्पदाको संरक्षणसँगै हनुमानढोका दरबार क्षेत्रको ऐतिहासिक तथा सांस्कृतिक गरिमा बढाउने उनको भनाइ छ । निर्माण कार्यलाई सम्पदामैत्री, बलियो र आकर्षक बनाउन स्थानीय तथा सरोकारवालाको निरन्तर अनुगमन, सुझाव र सहयोग आवश्यक रहेको उनले बताइन् ।

    भवनको उपयोगिताबारे स्पष्ट पार्दै उनले भनिन्, ‘हनुमानढोका दरबार क्षेत्रमा जीवित देवी कुमारीसँगै श्री गणेश र श्री भैरवका लागि पनि उपयुक्त निवास आवश्यक छ । विशेषगरी इन्द्रजात्रासँग जोडिएको धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिन यसको महत्त्वपूर्ण भूमिका रहनेछ ।’

    ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको वसन्तपुर क्षेत्रको मौलिकता र परम्परालाई संरक्षण गर्ने उद्देश्यले भवन निर्माण सुरु गरिएको हो । नयाँ भवन निर्माणपछि श्री गणेश र श्री भैरवसँग सम्बन्धित धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्न सहज हुने र परम्परागत धार्मिक मान्यताको निरन्तरतामा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar