प्रधानमन्त्रीको भारत भ्रमणलाई आर्थिक कूटनीतिको ऐतिहासिक अवसर बनाउन चेम्बरका निवर्तमान अध्यक्ष मल्लको सुझाव

  • कालिका खवर
  • शनिबार, मंसिर ५, २०८३
  • काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका  निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले प्रधानमन्त्रीको भारत भ्रमणलाई नेपालको आर्थिक कूटनीति सुदृढ गर्ने ऐतिहासिक अवसरका रूपमा उपयोग गर्नुपर्ने बताएका छन्।

    मल्लले भारतसँगको व्यापार घाटा न्यूनीकरण, जलविद्युत् निर्यात, पर्यटन प्रवर्द्धन तथा उत्पादनमूलक क्षेत्रमा भारतीय लगानी वृद्धि गर्ने विषयलाई प्रधानमन्त्रीको भारत भ्रमणको प्रमुख एजेन्डा बनाउनुपर्नेमा जोड दिएका छन्।

    उनका अनुसार भारतसँग नेपालको करिब ९ खर्ब ५२ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा रहेको अवस्थामा यसको न्यूनीकरणका लागि ठोस पहल आवश्यक छ। नेपालबाट भारतमा जलविद्युत् निर्यात विस्तार, भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि थप हवाई प्रवेश मार्गको व्यवस्था तथा भारतीय पर्यटक आकर्षित गर्ने विषयमा प्रभावकारी सहमति गर्नुपर्ने उनको भनाइ छ।

    मल्लले हवाई कनेक्टिभिटीसँगै गुणस्तरीय रेलमार्ग विस्तारलाई पनि उच्च प्राथमिकता दिनुपर्ने बताएका छन्। यसले नेपाल–भारतबीच व्यापार, पर्यटन र आर्थिक गतिविधि विस्तार गर्न महत्वपूर्ण योगदान पुर्‍याउने उनको विश्वास छ।

    त्यसैगरी, नेपालमा उपलब्ध प्रशस्त जलविद्युत् सम्भावना र चिसो हावापानी भएका स्थानको उपयोग गर्दै डाटा सेन्टर निर्माण, कृत्रिम बौद्धिकता (एआई) तथा सूचना प्रविधि (आईटी) सेवा विकासमा लगानी बढाउनुपर्ने उनले औंल्याएका छन्। अन्तर्राष्ट्रिय बजारमा नेपाली आईटी सेवा निर्यात गर्ने वातावरण निर्माण गर्न सके रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा समेत महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ छ।

    मल्लले नेपालको कूटनीति अब औपचारिक भेटघाट र प्रतिबद्धतामा मात्र सीमित हुन नहुने उल्लेख गर्दै व्यापार, लगानी, प्रविधि, रोजगारी र राष्ट्रिय समृद्धिमा प्रत्यक्ष देखिने परिणाम हासिल गर्नुपर्ने बताएका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar