आसिका तामाङमाथि कारबाही गर्न विकेश साहको माग

  • कालिका खवर
  • मङ्लबार, कार्तिक २४, २०८३
  • काठमाडौं । कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले सांसद आसिका तामाङले दीपावली र हिन्दू धर्म–संस्कृतिमाथि नकारात्मक टिप्पणी गरेको आरोप लगाउँदै कारबाहीको माग गरेका छन् ।

    सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै साहले दीपावलीका विषयमा तामाङले गरेका टिप्पणीले नेपाली संस्कृति र हिन्दू आस्थाको अपमान गरेको बताएका छन् ।

    उनले तामाङले कहिले दीपावलीमा पटाका पड्काउँदा निद्रा बिग्रिएको त कहिले बत्तीका कारण बिजुलीको बिल बढी उठेको भन्दै टिप्पणी गरेको उल्लेख गरेका छन् । यस्ता अभिव्यक्तिले नेपालीको धर्म–संस्कृतिलाई मजाक बनाएको उनको आरोप छ ।

    ‘कानुन सबैका लागि बराबर हो भने आसिका तामाङजस्ता व्यक्तिले नेपालीको मानमर्दन गर्ने र हिन्दूविरोधी साम्प्रदायिक आधार खडा गर्ने काम गरेमा दण्डित गर्नुपर्छ,’ साहले लेखेका छन् ।

    उनले राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूलाई सम्बोधन गर्दै तामाङमाथि कारबाही गर्न माग गरेका छन् । साथै, सनातन धर्मको अपमान स्वीकार्य नहुने भन्दै आफूहरू चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar