बाढीले क्षतिग्रस्त सिटिजन्स बैंकको देवीघाट शाखा बट्टारमा स्थानान्तरण

  • कालिका खवर
  • मङ्लबार, कार्तिक १७, २०८३
  • काठमाडौं । भोटेकोशी बाढीबाट पूर्ण रूपमा क्षति भएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको नुवाकोटस्थित देवीघाट शाखा बट्टारमा स्थानान्तरण गरिएको छ ।

    स्थानीय सेवाग्राहीहरूलाई सहज, सुलभ तथा प्रभावकारी बैंकिङ सेवा दिने उद्देश्यले बैंकले विदुर नगरपालिका वडा नं २ बट्टारमा मंगलबारबाट शाखा सञ्चालनमा ल्याएको हो ।

    बट्टार शाखा यसअघि सञ्चालनमा रहेको देवीघाट शाखाबाट करिब ७ किलोमिटरको दूरीमा रहेको थियो । बागमती प्रदेशमा सिटिजन्स बैंकको ५६ शाखाहरु सञ्चालनमा रहेको छ ।

    बट्टारमा आज आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले नयाँ शाखाको शुभारम्भ गरेका हुन् ।

    प्रमुख कार्यकारी अधिकृत पोखरेलले नुवाकोटस्थित देवीघाट शाखा पूर्ण रूपमा क्षति भएको अवस्थामा यहाँको ग्राहकहरूलाई उत्कृष्ट सेवा सुविधा पुर्‍याउने क्रममा बट्टार शाखा सञ्चालनमा ल्याएर अझ उच्चस्तरीय ग्राहक सेवामा समर्पित रहने बताए । पोखरेलले जटिल अवस्थामा धैर्य धारण गरेर शाखा सञ्चालनमा ल्याएकोमा मुक्तकण्ठले शाखाका कार्यरत कर्मचारीहरूको प्रशंसा गरे ।

    भोटेकोशी विनाशकारी बाढीले बैंकको देवीघाट शाखा सम्पूर्ण रूपमा पाताल भए पनि कर्मचारीहरू सुरक्षित रहन सफल भएका थिए । सुविधा सम्पन्न यो शाखामार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य बैंकले राखेको छ ।

    बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बट्टार शाखामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागिएको छ । उक्त स्वास्थ्य शिविरमा मुखको क्यान्सर, मुटु तथा रक्तनलीसम्बन्धी रोगहरूको परीक्षण, शरीरको वस्तुमान सूचकाङ्क परीक्षण तथा मधुमेह (सुगर) परीक्षण लगायतका स्वास्थ्य सेवाहरू निःशुल्क रूपमा उपलब्ध गराइने बैंकले जनाएको छ ।

    सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६७ वटा एटिएम, ३ विस्तारित काउन्टर र ४२ वटा शाखारहित बैंकिङ इकाइहरुबाट २० लाख ८२ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar