सातै प्रदेशमा वर्षा, चक्रवात ‘अर्नब’को प्रभाव बागमती, मधेश र कोशीमा मात्र

  • कालिका खवर
  • शुक्रबार, कार्तिक १३, २०८३
  • काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’का कारण हाल तीनवटा प्रदेशमा मात्र वर्षा भइरहेको छ ।

    सातै प्रदेशमा वर्षा भइरहे पनि ‘अर्नब’को प्रभाव तीन प्रदेशमा मात्र रहेको मौसमविद् विनोद पोखरेलको भनाइ छ ।

    उनका अनुसार बागमती, मधेश र कोशी प्रदेशमा भइरहेको वर्षा चक्रवात ‘अर्नब’को प्रभावका कारण हो । तर कर्णाली र सुदूरपश्चिममा भने पश्चिमी वायुको प्रभावका कारण वर्षा भइरहेको छ ।

    लुम्बिनी र गण्डकीमा वर्षा भइरहे पनि ‘अर्नब’ र पश्चिमी वायुको कमजोर प्रभाव मात्र परेको उनको भनाइ छ । सोही कारण अपेक्षित वर्षा नभएको उनको अनुमान छ ।

    ‘अहिले वर्षाले नेपालका सातै प्रदेश छोएको छ । तर रोचक कुरा के छ भने वर्षा गराउने प्रणाली भने सबै ठाउँमा एउटै छैन । सुदूरपश्चिम र कर्णालीमा भइरहेको वर्षा पश्चिमी वायुको प्रभावका कारण हो भने बागमतीदेखि कोशीसम्मको वर्षा चक्रवात अर्नबको प्रभावसँग सम्बन्धित छ,’ पोखरेल भन्छन्, ‘गण्डकी र लुम्बिनीका पश्चिमी भूभागमा भने दुवै प्रणालीको कमजोर प्रभाव मात्र परेको छ, भनौँ, यता न उताको अवस्था । त्यसैले ती क्षेत्रमा अहिले खासै वर्षा हुन सकेको छैन ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar