लगातारका अभियानपछि पनि संगठन पुनर्निर्माणको चुनौती, फेरि जागरण अभियानमा प्रचण्ड

  • कालिका खवर
  • बिहिबार, कार्तिक १२, २०८३
  • काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले जनतासँग प्रत्यक्ष संवाद बढाउने, संगठन विस्तार गर्ने र खस्किएको जनमत पुनःस्थापित गर्ने उद्देश्यसहित दुईमहिने ‘राष्ट्रिय जागरण अभियान’ सुरु गरेको छ ।

    कात्तिक ७ गते पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले काठमाडौंको पेरिसडाँडास्थित केन्द्रीय कार्यालयबाट संयुक्त रूपमा अभियानको सुरुवात गरेका हुन् ।

    अभियानमार्फत राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतन्त्र र जनअधिकारको संरक्षण, जनजीविकाका समस्या समाधान तथा समाजवाद निर्माणको आधार तयार पार्ने लक्ष्य राखिएको पार्टीले जनाएको छ ।

    प्रचण्डका अनुसार अभियानका क्रममा बढ्दो महँगी, बेरोजगारी, कालोबजारी, भ्रष्टाचार, आर्थिक असुरक्षा, सार्वजनिक सेवामा हुने ढिलासुस्ती, सुकुम्बासी तथा श्रमिकका समस्या र वैदेशिक रोजगारीका कठिनाइबारे तथ्य संकलन गरिनेछ ।

    जनताका गुनासा सुनेर मात्रै नफर्कने प्रतिबद्धता जनाउँदै उनले समस्या स्थानीय, प्रदेश र संघीय तहका सम्बन्धित निकायसम्म पुर्‍याउने तथा समाधानका लागि पहल गर्ने बताएका छन् । अभियानका क्रममा केन्द्रीय नेतादेखि पार्टीका नेता तथा कार्यकर्तालाई गाउँ, वडा र टोलसम्म परिचालन गर्ने तयारी छ ।

    निर्वाचनको पराजयसँग मात्रै जोडेर हेर्न नहुने दाबी

    पार्टीका प्रवक्ता प्रकाश ज्वालाले राष्ट्रिय जागरण अभियानलाई निर्वाचनमा बेहोरेको पराजयसँग मात्रै जोडेर हेर्न नहुने बताएका छन् ।

    उनका अनुसार पार्टीले सरकारमा रहँदा र नरहँदा दुवै अवस्थामा जनतासँग प्रत्यक्ष सम्बन्ध विस्तार गर्ने उद्देश्यले यस्ता अभियान सञ्चालन गर्दै आएको छ । विगतका गल्ती र कमजोरीलाई आत्मसात् गर्दै संगठन सुदृढीकरणका लागि अभियान आवश्यक रहेको उनको भनाइ छ ।

    तर, जनतासँग जोडिने र संगठन पुनर्निर्माण गर्ने उद्देश्यसहित प्रचण्ड नेतृत्वको पार्टीले अभियान सञ्चालन गरेको यो पहिलो पटक होइन । शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेयता माओवादी धारले राजनीतिक परिस्थिति र संगठनको आवश्यकताअनुसार विभिन्न अभियान सञ्चालन गर्दै आएको छ ।

    यसबीच पार्टीले एकता, विभाजन र पुनर्गठनका अनेक चरण पार गरेको छ । पार्टीको नाम र राजनीतिक संरचनासमेत परिवर्तन हुँदै अहिले ‘नेपाली कम्युनिष्ट पार्टी’का रूपमा अघि बढेको छ ।

    सुशासनको मुद्दादेखि जनजीविकाका सवालसम्म

    प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बनेपछि २०७९ पुस ११ देखि २०८१ असार २८ सम्मको कार्यकालमा सुशासनलाई प्रमुख राजनीतिक मुद्दाका रूपमा अघि सारेका थिए ।

    त्यस अवधिमा नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा प्रकरण र सुन तस्करी प्रकरणमा अनुसन्धान तथा छानबिनका प्रक्रिया अघि बढेका थिए । मिटरब्याज पीडितका समस्या सम्बोधन गर्न कानुनी व्यवस्था र कारबाहीका पहलसमेत भएका थिए ।

    माओवादी नेतृत्वले यी कामलाई सुशासनका क्षेत्रमा आफ्नो सरकारका महत्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गर्दै आएको छ । यद्यपि, अहिले सुरु गरिएको जागरण अभियानको प्रभावकारिता भने जनताका समस्या समाधानमा हुने प्रगति र संगठनमा आउने परिवर्तनबाट मापन हुनेछ ।

    विगतमा पनि चलेका थिए विभिन्न अभियान

    नेपाली कम्युनिष्ट पार्टी बन्नुअघि माओवादी केन्द्रले २०८० भदौदेखि पुससम्म ‘जनतासँग माओवादी, विशेष रूपान्तरण अभियान’ सञ्चालन गरेको थियो । चारमहिने अभियानमा नेता तथा कार्यकर्तालाई देशभरका वडा र स्थानीय तहसम्म परिचालन गरी जनताका गुनासा सुन्ने, पार्टीको अवस्था बुझ्ने र संगठन पुनर्निर्माण गर्ने प्रयास गरिएको थियो ।

    त्यसपछि २०८० पुस १६ गते ‘विचार केन्द्रित अभियान’ घोषणा गर्दै पार्टीका नीति, सिद्धान्त, वैचारिक दिशा र समाजवादको अवधारणाबारे तल्लो तहसम्म बहस अघि बढाउने प्रयास गरिएको थियो ।

    २०८१ पुसमा संगठन सुदृढीकरण तथा जागरण अभियान सञ्चालन गर्ने निर्णय पनि गरिएको थियो । पार्टीको महाधिवेशन तयारी, जनताका सुझाव संकलन र कमजोर बन्दै गएको संगठनलाई पुनर्जीवित गर्ने उद्देश्य त्यसमा जोडिएको थियो ।

    २०८१ फागुनदेखि पार्टीले विभिन्न राजमार्ग केन्द्रित प्रत्यक्ष सम्पर्क अभियान अघि बढाएको थियो । हुलाकी राजमार्ग, पूर्व–पश्चिम राजमार्ग, मदन भण्डारी लोकमार्ग र मध्यपहाडी लोकमार्गलाई केन्द्रमा राखेर जनतासँग सम्बन्ध विस्तार गर्ने प्रयास गरिएको थियो ।

    त्यसै क्रममा २०८१ फागुन १२ गते झापाको कचनकवल गाउँपालिकास्थित बनियानीबाट ‘जनतासँग माओवादी : तराई–मधेस जागरण अभियान’ सुरु गरिएको थियो ।

    विगतका अभियानपछि फेरि सुरु गरिएको राष्ट्रिय जागरण अभियानले पार्टीको संगठनात्मक अवस्था र जनतासँगको सम्बन्धमा कस्तो परिवर्तन ल्याउँछ भन्ने विषय आगामी दिनमा स्पष्ट हुँदै जानेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar