लुम्बिनी बचाऊ महाअभियानका संयोजक खानसहित दुईजना पक्राउ

  • कालिका खवर
  • मङ्लबार, कार्तिक १०, २०८३
  • बुटवल । लुम्बिनी बचाऊ महाअभियानका संयोजक अकराम खानसहित दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्तिको विरोध गर्दै आएको महाअभियानका संयोजक खानलाई प्रहरीले सोमबार (कात्तिक ९) राति नियन्त्रणमा लिएको हो ।

    सार्वजनिक शान्ति सुव्यवस्थामा खलल पुर्‍याएको आरोपमा दुईजनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

    रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–६ स्थित सार्वजनिक स्थानमा उच्छृंखल गतिविधि गरी सार्वजनिक शान्ति सुव्यवस्थामा खलल पुर्‍याएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    नियन्त्रणमा लिइएकामा लुम्बिनी सांस्कृतिक नगरपालिका–६ का ६१ वर्षीय खान र वडा नम्बर–९ का ३३ वर्षीय वाजिउद्दिन मुसलमान छन् । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    यसैबीच, महाअभियानका सहसंयोजक रामविकास चौधरीले खानलाई मध्यरातमा घरमा सुतिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको बताएका छन् । आनी छोइङ लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएदेखि नै महाअभियानले विरोधस्वरूप चरणबद्ध आन्दोलन गर्दै आएको छ ।

    संयोजकमाथि गरिएको धरपकडप्रति आपत्ति जनाउँदै महाअभियानले सरकारको कदमको कडा शब्दमा भर्त्सना गरेको छ । अभियानले खानलाई निःसर्त रिहा गर्न माग गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar