नेपाल–भारत व्यापार घाटा घटाउन संयुक्त पहल आवश्यक : अध्यक्ष श्रेष्ठ

  • कालिका खवर
  • शुक्रबार, अशोज ३०, २०८३
  • काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नेपाल र भारतबीचको व्यापार घाटा न्यूनीकरण गर्न, लगानीका अवरोध हटाउन तथा द्विपक्षीय व्यापार र आर्थिक सहकार्य विस्तार गर्न दुवै देशले संयुक्त पहल गर्नुपर्ने बताएका छन् । नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)को ३२औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    भारत–नेपालका लागि सबैभन्दा ठूलो व्यापारिक साझेदार र वैदेशिक लगानीको महत्त्वपूर्ण स्रोत रहेको उनको भनाइ छ । सीमा पार व्यापारमा देखिएका समस्या समाधान, भन्सार प्रक्रिया सरलीकरण, सीमा पूर्वाधार सुधार र यातायात सञ्जाल विस्तारमा उनले जोड दिए ।

    “आर्थिक वर्ष २०२५–२६ मा नेपाल र भारतबीचको कुल द्विपक्षीय व्यापार करिब १०.१ अर्ब अमेरिकी डलर पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ८.२ प्रतिशतले बढी हो । उक्त अवधिमा नेपालले भारततर्फ करिब १.७८ अर्ब अमेरिकी डलर बराबरको वस्तु निर्यात गरेको थियो भने भारतबाट करिव ८.३२ अर्ब अमेरिकी डलर बराबरको वस्तु आयात गरेको थियो,” उनले भने ।

    श्रेष्ठले व्यापारमा देखिएको असन्तुलन कम गर्न नेपालको निर्यात क्षमता अभिवृद्धि गर्नुपर्ने र भारतबाट उत्पादनमूलक क्षेत्रमा लगानी आकर्षित गर्नुपर्ने बताए । नेपाली उत्पादनले भारतीय बजारमा प्रवेश गर्दा सामना गर्नुपरेका गुणस्तर प्रमाणीकरणसम्बन्धी समस्याप्रति सरकारको ध्यानाकर्षण गराए ।

    नेपालले जलविद्युत्, विद्युत् प्रसारण पूर्वाधार, पर्यटन, सूचना प्रविधि तथा निर्यातमुखी उद्योगमा भारतीय लगानीलाई स्वागत गर्ने श्रेष्ठले बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar