एनपिएलमा चितवन राइनोजले अनुबन्ध गर्‍यो पाकिस्तानी लेग स्पिनर उसामा मिर

  • कालिका खवर
  • शुक्रबार, अशोज ३०, २०८३
  • काठमाडौं  । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा सहभागी आठवटै टोलीले विदेशी खेलाडी अनुबन्ध गर्ने प्रक्रिया तीव्र बनाएका छन्। यसैक्रममा चितवन राइनोजले पाकिस्तानका चर्चित लेग स्पिनर उसामा मिरलाई टोलीमा अनुबन्ध गरेको छ।

    ९ कात्तिकबाट सुरु हुने प्रतियोगिताका लागि चितवनले ३० वर्षीय मिरलाई टोलीमा भित्र्याएको हो। उनले पाकिस्तानका लागि १२ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा १५ विकेट तथा पाँच टी–२० अन्तर्राष्ट्रिय खेलमा पाँच विकेट लिएका छन्। उनले सन् २०२३ मा भारतमा आयोजित एकदिवसीय विश्वकपसमेत खेलेका थिए।

    कुशल मल्लको कप्तानीमा मैदान उत्रने चितवनले यस सिजन पाकिस्तानका पूर्वबलर सोहेल तनभिरलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। टोलीले यसअघि नै रवि बोपरा, सिकन्दर राजा र कलिम सानालाई अनुबन्ध गरिसकेको छ। नेपाली खेलाडीमध्ये अर्जुन साउद र देव खनाललगायत टोलीमा छन्।

    एनपिएलको यस संस्करणमा प्रत्येक टोलीले बढीमा ६ जना विदेशी खेलाडी अनुबन्ध गर्न पाउनेछन्। तर, खेलका क्रममा भने एक टोलीले बढीमा चार जना विदेशी खेलाडीलाई मैदानमा उतार्न सक्ने व्यवस्था छ।

    यसैबीच, केही टोली अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट आवश्यक मान्यता नपाउँदा टेस्ट खेलिसकेका खेलाडीलाई अनुबन्ध गर्ने प्रक्रियाको प्रतीक्षामा छन्। हाल आइसिसीले टेस्ट खेलिरहेका चार खेलाडीलाई एनपिएलमा सहभागी गराउन मान्यता दिएको जनाइएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar