मतदान सुरु हुँदै गर्दा मत माग्न मैदानमा उत्रिए परशुरामका मेयर जोशी

  • कालिका खवर
  • बिहिबार, अशोज २२, २०८३
  • काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका उम्मेदवार तथा डडेल्धुराको परशुराम नगरपालिकाका मेयर भरत वडायर जोशी मत माग्न निर्वाचन स्थलमा सक्रिय भएका छन । निर्वाचन समितिले बिहिबार बिहान १० बजेका लागि तय गरेको मतदान समय दिउँसो १ बजेदेखि सुरु हुने जानकारी गराएसँगै जोशी मतदातामाझ पुगेका हुन । कांग्रेसको मतदान स्थलमा विभिन्न पदका उम्मेदवारहरू आ–आफ्नो पक्षमा मत माग्दै सक्रिय छन ।

    जोशीले सुदूरपश्चिम प्रदेश युवातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन । उनले पार्टी संगठनमा भुइँ तहदेखि काम गरेको अनुभवलाई केन्द्रीय भूमिकामा उपयोग गर्ने उद्देश्यले उम्मेदवारी दिएको बताएका छन । जोशीका अनुसार जनप्रतिनिधि र पार्टी संगठनबीच प्रभावकारी समन्वय आवश्यक छ । स्थानीय तहमा भएका राम्रा काम र अभ्यासलाई एकअर्कासँग आदानप्रदान गर्ने संयन्त्र निर्माण गर्न सके पार्टी र जनप्रतिनिधि दुवैलाई फाइदा पुग्ने उनको धारणा छ ।

    युवाको प्रतिनिधित्व पार्टीका विभिन्न तह र संरचनामा अझै बढाउनुपर्नेमा जोड दिँदै उनले आफूले स्थानीय तहमा गरेको काम र हासिल गरेको अनुभवका आधारमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको बताएका छन ।

    जोशी २०७९ सालको स्थानीय तह निर्वाचनमा २८ वर्षको उमेरमै परशुराम नगरपालिकाको नगरप्रमुखमा निर्वाचित भएका थिए। भौतिक विज्ञानमा स्नातकोत्तर गरेका उनी कोरोना महामारीको समयदेखि सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका छन ।

    महामारीका क्रममा गाउँमा खटिँदा देखेको पीडा र भोगेको अनुभवले आफूलाई गाउँमै बसेर काम गर्न प्रेरित गरेको जोशी बताउँछन । २०७८ सालमा सम्पन्न नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत उनी परशुराम नगरपालिकाको नगर सभापतिमा निर्वाचित भएका थिए ।
    नगरप्रमुखका रूपमा जोशीले विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र धितो राखेर बिना परम्परागत धितो कर्जा लिन सक्ने विद्यार्थी कर्जा कार्यक्रम लागू गर्न पहल गरेका थिए।

    नेपाली कांग्रेसमा ३५ वर्षमुनिका २१ जना केन्द्रीय सदस्य रहने व्यवस्था छ । यही युवा प्रतिनिधित्वअन्तर्गत जोशी सुदूरपश्चिम प्रदेशबाट केन्द्रीय सदस्य बन्ने प्रतिस्पर्धामा छन । आज विहिबार मतदान हुँदै गर्दा जोशीसहित विभिन्न पदका उम्मेदवारहरू मतदातासँग भेटघाट र मत माग्न व्यस्त छन ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar