राइडरको समस्या समाधान गर्न गङ्गबुमा ‘राइड केयर नेपाल’को सुरुवात

  • कालिका खवर
  • बुधबार, अशोज २१, २०८३
  • काठमाडौं । काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै ‘राइड केयर नेपाल’ सञ्चालनमा आएको छ। टोखा नगरपालिका–९ वडा कार्यालयसँगै स्थापना गरिएको राइड केयर नेपालको उद्घाटन २०८३ असोज २१ गते गरिएको हो।

    राइड सेयरिङ क्षेत्रमा आबद्ध चालकलाई आवश्यक सेवा, सुविधा तथा सहयोग उपलब्ध गराउने उद्देश्यले राइड केयर नेपाल सञ्चालनमा ल्याइएको सञ्चालकहरूले बताएका छन्। पठाओ, इन्ड्राइभर, याङ्गगो, उबर लगायतका राइड सेयरिङ प्लेटफर्ममा आबद्ध चालकलाई प्राथमिकता दिँदै विभिन्न सेवा तथा सुविधाहरू उपलब्ध गराउने तयारी गरिएको छ।

    राइड केयर नेपालमा बाइक सर्भिसिङमा विशेष सुविधा, पार्टपुर्जामा छुट तथा एमआरपीमा विशेष छुट उपलब्ध गराइने जनाइएको छ। दसैँलाई लक्षित गर्दै विशेष अफरसमेत सञ्चालन गरिएको छ। जसअनुसार फुल सर्भिस गराउने ग्राहकलाई निःशुल्क थकाली खाना उपलब्ध गराउने व्यवस्था गरिएको सञ्चालकहरूको भनाइ छ।

    त्यस्तै, बाइकको मर्मतसम्भारका लागि फाइनान्सिङ सुविधा, रिकन्डिसन बाइकको कारोबार, बाइक रेन्टल, रेस्टुरेन्ट तथा सैलुन सेवा सञ्चालन गर्ने योजना रहेको राइड केयर नेपालले जनाएको छ। ग्राहक तथा राइडरलाई लक्षित गर्दै विभिन्न कार्यक्रम तथा इभेन्टसमेत आयोजना गरिने बताइएको छ।

    राइड केयर नेपालले आफ्नै ५० वटा बाइक सञ्चालनमा ल्याएर राइड सेयरिङ सेवा प्रदान गर्ने तयारी समेत गरेको छ। यसबाट राइडर तथा यात्रुलाई थप सहज, व्यवस्थित र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्य रहेको सञ्चालकहरूले बताएका छन्।

    राइड सेयरिङ क्षेत्रमा आबद्ध चालकका लागि एउटै स्थानबाट सर्भिसिङदेखि अन्य आवश्यक सेवा तथा सुविधा उपलब्ध गराउने उद्देश्यसहित सञ्चालनमा आएको राइड केयर नेपालले आगामी दिनमा सेवा विस्तार गर्ने जनाएको छ। राइड केयर नेपालका सञ्चालकहरूमा श्रीराम थपलिया, रुपक कुँवर र मनिष कुँवर रहेका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar