जेनजी आन्दोलनको क्रममा घरमा तोडफोड र आगजनी गर्ने रञ्जन सिंह जेल चलान

  • कालिका खवर
  • मङ्लबार, अशोज २०, २०८३
  • रौतहट । जेनजी आन्दोलनको क्रममा वीरगञ्ज महानगरपालिका–३ स्थित अनिशमान सिंहको निजी निवासमा तोडफोड तथा आगजनी गरेको आरोपमा रञ्जन सिंह राजपुत पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

    जिल्ला अदालत पर्साले आपराधिक उपद्रव तथा डाँकासम्बन्धी कसुरमा राजपुतलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो । न्यायाधीश सरिता रायमाझीको एकल इजलासले उनलाई वीरगञ्ज कारागार पठाउने आदेश दिएको अदालत स्रोतले जनाएको छ ।

    प्रहरी अनुसन्धानअनुसार २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा राजपुतसहितको समूहले अनिशमान सिंहको निजी घरमा प्रवेश गरी तोडफोड र आगजनी गरेको आरोप छ । घटनासम्बन्धी जाहेरी परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

    राजपुतलाई यसअघि अभद्र व्यवहारसम्बन्धी मुद्दामा अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । शुक्रबार धरौटीमा छुटेलगत्तै प्रहरीले उनलाई पुनः नियन्त्रणमा लिएको थियो । त्यसपछि अनिशमान सिंहको घरमा भएको तोडफोड तथा आगजनीसम्बन्धी कसुरमा अदालतमा उपस्थित गराइएको थियो ।

    प्रहरीले राजपुत ‘हिन्दु सम्राट सेना’को उपाध्यक्षका रूपमा सक्रिय रहेको दाबी गर्दै धर्मको नाममा आतंक सिर्जना गर्ने गतिविधिमा समेत संलग्न रहेको आरोप लगाएको छ । उक्त विषयमा पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यस घटनामा यसअघि ‘अब्बु’ नामले चिनिने महमद अब्बु हुसेन अर्थात् अयुब हुसेन पनि अदालतको आदेशपछि पुर्पक्षका लागि वीरगञ्ज कारागारमा छन् ।

    जेनजी आन्दोलनका क्रममा वीरगञ्जमा भएका तोडफोड, आगजनी र लुटपाटका घटनामध्ये अनिशमान सिंहको निवासमा भएको आक्रमणबारे प्रहरीले अनुसन्धानलाई निरन्तरता दिएको जनाएको छ । घटनामा संलग्न अन्य व्यक्तिको पहिचान तथा भूमिकाबारे समेत अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । अनिशमान सिंह वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहका छोरा हुन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar