महिला उद्यमीका उत्पादन प्रवद्र्धन गर्न जमलमा ‘चेम्बर बजार’ सञ्चालन

  • कालिका खवर
  • शनिबार, अशोज १७, २०८३
  • काठमाडौं । महिला उद्यमी तथा व्यवसायीले उत्पादन गरेका वस्तुको बजारीकरण, प्रवद्र्धन तथा व्यापार विस्तार गर्ने उद्देश्यले काठमाडौंको जमलमा ‘चेम्बर बजार’ सञ्चालनमा आएको छ ।

    नेपाल महिला चेम्बरको आयोजनामा नेपाल चेम्बर अफ कमर्सको जमलस्थित भवनमा शनिबारदेखि ‘चेम्बर बजार’ सञ्चालनमा आएको हो । बजारमा खाद्यान्न, लत्ताकपडा, हस्तकलाका सामग्री, साल्ट ट्रेडिङलगायतका विभिन्न वस्तुका स्टल राखिएका छन् ।

    चेम्बर बजारमा महिला उद्यमी तथा व्यवसायीले उत्पादन गरेका विभिन्न वस्तुका साथै आयात–निर्यातसँग सम्बन्धित सामग्रीसमेत बिक्री तथा प्रदर्शनीका लागि राखिएको आयोजकले जनाएको छ ।

    बजार उद्घाटन कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठले महिला उद्यमीका उत्पादनलाई उपभोक्तासम्म पुर्‍याउन ‘चेम्बर बजार’ले महत्वपूर्ण सहयोग गर्ने बताइन् ।

    “महिला उद्यमीका उत्पादनलाई उपभोक्तासम्म पुर्‍याउने हाम्रो प्रयास हो,” श्रेष्ठले भनिन्, “उत्पादनसँगै व्यवसाय विस्तारका लागि पनि सहयोग पुग्नेछ ।”

    महिला उद्यमीले उत्पादन गरेका वस्तुले पर्याप्त बजार नपाउँदा व्यवसाय विस्तारमा समस्या हुने गरेको उल्लेख गर्दै श्रेष्ठले उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने माध्यमका रूपमा चेम्बर बजारलाई अघि बढाउन खोजिएको बताइन् । उनका अनुसार बजारमा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तु सुपथ मूल्यमा बिक्री गर्ने व्यवस्था गरिएको छ ।

    नेपाल चेम्बर अफ कमर्सका पूर्वाधार तथा भूमि सुधार समिति सभापति रोशन भयोद्योले यस्ता मेलालाई विस्तार गर्न आवश्यक रहेको बताए । उनले महिला उद्यमीका उत्पादनको प्रवद्र्धनसँगै सर्वसाधारण उपभोक्ताले स्थानीय तथा स्वदेशी उत्पादन सहज रूपमा खरिद गर्न पाउने अवसर सिर्जना हुने बताए ।

    नेपाल महिला चेम्बरकी सचिव इरा प्रसाईंले चेम्बर बजारलाई व्यापारिक कारोबारमा मात्र सीमित नराखी महिला उद्यमीको आर्थिक सशक्तीकरण, सीप विकास र बजार पहुँच विस्तारको अभियानका रूपमा अघि बढाउने लक्ष्य रहेको बताइन् ।

    “चेम्बर बजारलाई केवल व्यापारिक मेला नभई महिला उद्यमीको आर्थिक सशक्तीकरण, सीप विकास र बजार पहुँच विस्तार गर्ने अभियानका रूपमा अघि बढाउने उद्देश्य हो,” प्रसाईंले भनिन्, “महिलालाई आफ्ना उत्पादनको बजार विस्तार गर्ने अवसर दिनुका साथै नयाँ उद्यम सुरु गर्न चाहने महिलालाई पनि व्यवसायमा आकर्षित गर्ने लक्ष्य छ ।”

    मेलाकी संयोजक अनिता अमात्य श्रेष्ठले उत्पादनको बिक्री तथा प्रवद्र्धनसँगै उद्यमशीलता विकाससम्बन्धी गतिविधिसमेत सञ्चालन गरिने जानकारी दिइन् । नेपाल महिला चेम्बरकी सल्लाहकार निलम ताम्राकारले मेलाले महिला उद्यमशीलता प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरिन् ।

    आयोजकका अनुसार उद्यम गरिरहेका तथा व्यवसाय सुरु गर्न इच्छुक महिलाका लागि सरकारी प्रक्रिया, व्यवसाय सञ्चालन तथा व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गरिनेछ ।

    त्यसैगरी सीप तथा व्यावसायिक तालिम, महिला स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम र निःशुल्क स्वास्थ्य परीक्षणजस्ता गतिविधि पनि चेम्बर बजारसँगै सञ्चालन गरिने आयोजकले जनाएको छ ।

    जमलबाट सुरु गरिएको चेम्बर बजारलाई आगामी दिनमा काठमाडौंमा मात्र सीमित नराखी देशका अन्य प्रमुख सहर तथा विभिन्न क्षेत्रमा विस्तार गर्ने योजना रहेको नेपाल महिला चेम्बरले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar