बुटवलमा शनिबार पहिलो ‘अपाचे रेसिङ क्वालिफायर’ आयोजना हुँदै

  • कालिका खवर
  • शुक्रबार, अशोज १६, २०८३
  • काठमाडौं । टीभीएस मोटर कम्पनीका लागि नेपालका आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालि (टीभीएस नेपाल) ले वर्षभरि सञ्चालन गरिरहेको ‘अपाचे रेस एक्सपेरियन्स जीपी’ (ARE GP) अन्तर्गत पहिलो ‘अपाचे रेसिङ क्वालिफायर’ शनिबार, अक्टोबर ३ मा बुटवलमा आयोजना गर्ने भएको छ।

    तिलोत्तमा–५, मणिग्राम, बुटवलस्थित श्री गौरांग इजीवे ट्रायल सेन्टरमा हुने क्वालिफायरमा सहभागी राइडरका लागि कार्यक्रम बिहान ८ बजेदेखि सुरु हुनेछ। सञ्चारकर्मी, अतिथि तथा कन्टेन्ट क्रिएटरका लागि भने कार्यक्रम बिहान ११ बजेदेखि खुला रहने आयोजकले जनाएको छ।

    यससँगै बुटवल ARE GP क्वालिफायर राउन्ड आयोजना गर्ने पहिलो सहर बनेको छ। बुटवलपछि काठमाडौं, नेपालगञ्ज, इटहरी र पोखरामा समेत क्वालिफायर राउन्ड आयोजना गरिनेछ।

    क्वालिफायरमा सहभागी राइडरलाई राइडिङ पोस्चर, कर्नरिङ, लिनिङ, ब्रेकिङ तथा भिजन कन्ट्रोल सम्बन्धी सैद्धान्तिक प्रशिक्षण दिइनेछ। त्यसपछि प्रशिक्षकको निगरानीमा ट्र्याकमा विभिन्न ड्रिल अभ्यास गराइने आयोजकले जनाएको छ।

    प्रशिक्षणपछि १६० सीसी र २०० सीसी गरी दुई श्रेणीमा प्रतिस्पर्धात्मक रेस हुनेछ। प्रत्येक श्रेणीका शीर्ष तीन राइडर काठमाडौंको सतुंगलस्थित भेहिकल एकेडेमी एन्ड रिसर्च सेन्टरमा आयोजना हुने ‘अपाचे रेस एक्सपेरियन्स’ ग्रान्ड फिनालेका लागि छनोट हुनेछन्।

    ग्रान्ड फिनालेमा थप ट्र्याक प्रशिक्षण तथा सैद्धान्तिक कक्षापछि दुवै श्रेणीमा रेस सञ्चालन हुनेछ। प्रत्येक श्रेणीका प्रथम विजेताले भारतको मद्रास इन्टरनेसनल सर्किटमा हुने अन्तर्राष्ट्रिय १६० सीसी तथा २०० सीसी रेसिङमा ५० भन्दा बढी देशका राइडरसँग प्रतिस्पर्धा गर्दै नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन्।

    आयोजकका अनुसार अन्तर्राष्ट्रिय रेसमा सफल हुने राइडरले सम्बन्धित श्रेणीका थप अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसरसमेत पाउनेछन्। यसका लागि आवश्यक यात्रा तथा आवास खर्च टीभीएस नेपाल र टीभीएस मोटर कम्पनी, भारतले व्यहोर्नेछन्। साथै, फिनालेका विजेतालाई मोटोजीपी र मोटोसोलको खर्चसहित भ्रमणको अवसरसमेत उपलब्ध गराइनेछ।

    बुटवल क्षेत्रका लागि टीभीएसको आधिकारिक डिलर बालाजी अटोमोबाइल्सका सञ्चालक विशाल जैसवालले ARE GP को पहिलो क्वालिफायर बुटवलबाट सुरु हुनु स्थानीय राइडरका लागि महत्वपूर्ण अवसर भएको बताए। उनका अनुसार लुम्बिनी क्षेत्रमा प्रतिभाशाली राइडर भए पनि उनीहरूलाई सुरक्षित तथा व्यावसायिक वातावरणमा सिक्ने र प्रतिस्पर्धा गर्ने मञ्चको आवश्यकता रहेको छ।

    टीभीएसका अनुसार कम्पनी सन् १९८२ देखि मोटरस्पोर्टमा सहभागी हुँदै आएको छ। कम्पनीले इन्डियन नेसनल मोटरसाइकल रेसिङ च्याम्पियनसिपमा ११ पटक उपाधि जितेको तथा सन् २०१५ मा डकार र्‍यालीमा सहभागी हुने पहिलो भारतीय निर्माता बनेको जनाएको छ। सोही रेसिङ विरासतलाई नेपालमा ट्र्याक अनुभवसँग जोड्ने उद्देश्यले ARE GP आयोजना गरिएको कम्पनीको भनाइ छ।

    कार्यक्रममा सहभागी हुन इच्छुक राइडरले टीभीएस नेपालको आधिकारिक फेसबुक पेज TVS Nepal वा इन्स्टाग्राम @TVS_nepal मा उपलब्ध क्यूआर कोड स्क्यान गरी दर्ता गर्न सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar