पुटिनले दिए परमाणु हतियार प्रयोगको चेतावनी

  • कालिका खवर
  • शुक्रबार, अशोज १६, २०८३
  • काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग लामो दूरीका प्रहार रोक्ने गरी युद्धविराम गर्ने प्रस्ताव अस्वीकार गरेका छन् । उनले कालिनिनग्रादमाथि प्रत्यक्ष खतरा उत्पन्न भए परमाणु हतियार समेत प्रयोग गर्न सकिने चेतावनी दिएका छन् ।

    बिहीबार मस्कोमा आयोजित भल्दाई राजनीतिक मञ्चमा पुटिनले युक्रेनले रुसी तेल प्रशोधन केन्द्रमाथिको आक्रमण रोक्ने र त्यसको बदलामा रुसले युक्रेनी जहाजमाथि हमला नगर्ने प्रस्तावलाई ‘हास्यास्पद’ बताए ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीबीच सेप्टेम्बर २२ मा भएको भेटपछि यस्तो प्रस्ताव अघि सारिएको थियो ।

    पुटिनले युक्रेनका ऊर्जा पूर्वाधारमाथि रुसले पनि प्रहार गरिरहेको स्वीकार गरे । रुसी तेल प्रशोधन केन्द्रमाथिका युक्रेनी आक्रमणले आफ्नो देशको कुल गार्हस्थ उत्पादनमा करिब १ प्रतिशत असर परेको उनले बताए ।

    पुटिनले रुस वार्तामार्फत युद्ध अन्त्य गर्न इच्छुक रहेको उल्लेख गरे । शत्रुता अन्त्य भएपछि युक्रेनलाई तटस्थ राष्ट्रका रूपमा हेर्न चाहेको पनि उनले बताए ।

    कालिनिनग्रादमा परमाणु हतियारको चेतावनी
    पोल्यान्ड र लिथुआनियाबीच रहेको रुसी भूभाग कालिनिनग्रादलाई अलग्याउने वा प्रत्यक्ष आक्रमण गर्ने प्रयास भए रुसले आफ्नो सम्पूर्ण हतियार भण्डार प्रयोग गर्ने पुटिनले चेतावनी दिए । त्यसमा परमाणु हतियार समेत पर्ने उनले बताए ।

    पुटिनको यो भनाइ नेटोले रुसबाट प्राप्त कूटनीतिक नोटबारे सार्वजनिक गरेको विवरणपछि आएको हो । उक्त नोटमा कालिनिनग्रादलाई रुसबाट अलग पार्ने प्रयास भए परमाणु हतियार प्रयोग गर्न सकिने चेतावनी दिइएको थियो । नेटो महासचिव मार्क रुट्टेले भने परमाणु धम्की अनुपयुक्त रहेको बताएका छन् ।

    पुटिनले बढ्दो प्रतिशोधात्मक कदमले द्वन्द्वलाई ‘फर्कन नसकिने घातक विन्दु’तर्फ धकेल्न सक्ने चेतावनी समेत दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar