पूर्वप्रधानन्यायाधीश जबराको पक्राउ राजनीतिक संकेत भएको अमरेशको दाबी, रविमाथि पनि चेतावनी दिइएको आरोप

  • कालिका खवर
  • मङ्लबार, अशोज १३, २०८३
  • काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको घटनालाई लिएर प्रधानमन्त्री बालेन्द्र साह (बालेन)ले पार्टी सभापति रवि लामिछानेलाई समेत सांकेतिक रूपमा ‘थ्रेट’ दिएको दाबी गरेका छन् ।

    प्राइम टेलिभिजन एचडीको एक कार्यक्रममा बोल्दै सांसद सिंहले आफू र सभापति लामिछानेमाथि समेत सांकेतिक रूपमा चेतावनी दिने उद्देश्यले जबरालाई पक्राउ गरिएको हुनसक्ने दाबी गरेका हुन् ।

    पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरीले शनिबार राति काठमाडौंको महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिएर टेकुस्थित अपराध अनुसन्धान कार्यालयमा पुर्‍याएको थियो । त्यसको भोलिपल्ट दिनभर कार्यालयमा राखेर प्रहरीले जबरालाई परिवारको जिम्मा लगाएर रिहा गरेको थियो ।

    सांसद सिंहले जबराको पक्राउ र रिहाइको घटनालाई सामान्य कानुनी प्रक्रियाका रूपमा मात्रै नहेरी राजनीतिक संकेतसँग जोडेर टिप्पणी गरेका हुन् । उक्त घटनामार्फत आफू र लामिछानेमाथि पनि सांकेतिक रूपमा थ्रेट दिइएको बुझ्न सकिने उनको दाबी छ ।

    सिंहले पछिल्लो समय साह सरकारको कार्यशैलीमाथि सार्वजनिक रूपमा प्रश्न उठाउँदै टिप्पणी गर्दै आएका छन् ।

    यता, रास्वपा सभापति लामिछाने लामो समयदेखि सहकारीसम्बन्धी ठगी आरोप र त्यससँग जोडिएका कानुनी प्रक्रियाको सामना गर्दै आएका छन् ।

    पार्टीका वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री साह र सभापति लामिछानेबीच पार्टीभित्रको शक्ति सन्तुलनलाई लिएर मतभेद रहेको चर्चा लामो सयमदेखि हुँदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar