कामना सेवा विकास बैंकका महिला कर्मचारीद्वारा बाढी प्रभावितलाई सरसफाइ सामग्री सहयोग

  • कालिका खवर
  • आइतवार, अशोज ११, २०८३
  • काठमाडौँ। कामना सेवा विकास बैंकका महिला कर्मचारीहरूले रसुवामा आएको बाढीबाट प्रभावित भई काठमाडौंस्थित विभिन्न होल्डिङ सेन्टरमा रहेका प्रभावित नागरिकलाई सरसफाइ तथा व्यक्तिगत स्वच्छतासम्बन्धी सामग्री सहयोग गरेका छन्।

    बैंकको मानव संसाधन विभागकी रुबी श्रेष्ठले बैंकको तर्फबाट उक्त सामग्री प्रभावितहरूलाई हस्तान्तरण गरेकी हुन्।

    प्राकृतिक विपद्का कारण विस्थापित तथा प्रभावित परिवारहरूको स्वास्थ्य, सरसफाइ र व्यक्तिगत स्वच्छतासम्बन्धी तत्कालीन आवश्यकतालाई ध्यानमा राख्दै बैंकका महिला कर्मचारीहरूको सहभागितामा आवश्यक सामग्री संकलन गरी सहयोग गरिएको बैंकले जनाएको छ।

    विपद्को समयमा खाद्यान्न, आवास तथा अन्य राहत सामग्रीसँगै व्यक्तिगत स्वास्थ्य तथा सरसफाइका आधारभूत सामग्रीको आवश्यकता पनि महत्वपूर्ण हुने भएकाले प्रभावित नागरिकको दैनिक जीवनलाई सहज बनाउने उद्देश्यले उक्त सहयोग गरिएको हो।

    यसअघि कामना सेवा विकास बैंकले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत १० लाख रुपैयाँ तथा बैंकमा कार्यरत कर्मचारीहरूको एक दिनको तलबबापत १५ लाख रुपैयाँ गरी कुल २५ लाख रुपैयाँ सहयोग गरेको थियो। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको बैंकले जनाएको छ।

    बैंकका अनुसार विपद् प्रभावित समुदायप्रति संस्थागत सहयोगसँगै कर्मचारी तहबाट समेत गरिएको मानवीय सहभागिताले सामाजिक उत्तरदायित्व र सहकार्यको भावनालाई थप सुदृढ बनाएको छ।

    कामना सेवा विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विपद् व्यवस्थापन, मानवीय सहायता, स्वास्थ्य, शिक्षा, वित्तीय साक्षरता तथा सामाजिक हितका विभिन्न क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको जनाएको छ। बैंकले आगामी दिनमा पनि आवश्यकता र परिस्थितिअनुसार प्रभावित समुदायको राहत तथा पुनःस्थापनामा सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar