शिवम् सिमेन्ट्सद्वारा अपाङ्ग नवजीवन केन्द्रका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

  • कालिका खवर
  • आइतवार, अशोज ११, २०८३
  • काठमाडौँ। शिवम् सिमेन्ट्स लिमिटेडले अपाङ्ग नवजीवन केन्द्रमा अध्ययनरत विशेष क्षमता भएका विद्यार्थीहरूलाई न्यानो कपडा, स्कुल ब्यागलगायत विभिन्न शैक्षिक सामग्री वितरण गरेको छ।

    विद्यार्थीहरूको अध्ययन तथा दैनिक जीवनलाई सहज बनाउने उद्देश्यले आयोजित कार्यक्रममा केन्द्रमा रहेका विद्यार्थीहरूलाई आवश्यक सामग्री हस्तान्तरण गरिएको हो।

    करिब छ महिनाअघि विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा रोल्पा नगरपालिका–१०, धाङ्सी निवासी विशेष क्षमता भएका बालक सन्देश बुढा मगरको प्रेरणादायी संघर्षको कथा सार्वजनिक भएको थियो। जन्मजात दुवै हात चलाउन नसक्ने अवस्थामा रहेका सन्देशले खुट्टाको सहारामा लेख्दै अध्ययनलाई निरन्तरता दिइरहेका छन्।

    सन्देशको संघर्षबारे समाचार सार्वजनिक भएपछि शिवम् सिमेन्ट्सले उनको शिक्षालाई निरन्तरता दिन पहल गरेको थियो। कम्पनीले काठमाडौंस्थित अपाङ्ग नवजीवन केन्द्र तथा खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयसँग समन्वय गरी सन्देशको माध्यमिक तहसम्मको अध्ययनका लागि आवश्यक सहयोग गर्ने व्यवस्था मिलाएको हो।

    सहकार्यअन्तर्गत अपाङ्ग नवजीवन केन्द्रले सन्देशको आवास, हेरचाह तथा अध्ययन समन्वयको जिम्मेवारी लिएको छ भने विद्यालयले विशेष शिक्षाअन्तर्गत अध्ययनको अवसर उपलब्ध गराउँदै आएको छ। उनको अध्ययन तथा आवश्यक व्यवस्थापनका लागि लाग्ने खर्चमा शिवम् सिमेन्ट्सले नियमित सहयोग गर्दै आएको कम्पनीले जनाएको छ।

    कार्यक्रममा कम्पनीका प्रतिनिधिहरूले शिक्षा हरेक बालबालिकाको मौलिक अधिकार भएको उल्लेख गर्दै विशेष आवश्यकता भएका बालबालिकाले पनि समान अवसरसहित गुणस्तरीय शिक्षा प्राप्त गर्नुपर्नेमा जोड दिए। समाजका आवश्यकतामा रहेका वर्गको जीवनस्तर सुधार तथा सशक्तीकरणमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने उनीहरूको भनाइ थियो।

    अपाङ्ग नवजीवन केन्द्रका पदाधिकारीहरूले सन्देश बुढा मगरको शिक्षाका लागि शिवम् सिमेन्ट्सले गरेको सहयोग तथा केन्द्रका अन्य विद्यार्थीलाई उपलब्ध गराएको सामग्रीले उनीहरूको मनोबल बढ्नुका साथै अध्ययनमा सकारात्मक प्रभाव पार्ने बताएका छन्।

    सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध रहेको शिवम् सिमेन्ट्सले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा समुदाय विकासका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। विशेष क्षमता भएका बालबालिकाको शिक्षा तथा समावेशी विकासमा योगदान पुर्‍याउने यस्ता पहललाई आगामी दिनमा पनि निरन्तरता दिइने कम्पनीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar