जगदम्बा मोटर्सले नेपाल भित्र्याउँदै स्याक्म्यानका दुई विद्युतीय हेभी सवारी

  • कालिका खवर
  • शुक्रबार, अशोज ९, २०८३
  • काठमाडौं। शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले चीनको अग्रणी व्यावसायिक सवारीसाधन निर्माता स्याक्म्यानका एक्स–५०००ई ६x४ विद्युतीय ट्र्याक्टर र एक्स–५०००ई ६x४ विद्युतीय डम्प ट्रक नेपाल भित्र्याउने भएको छ।

    यी दुई मोडलमार्फत कम्पनीले नेपालको भारी तथा व्यावसायिक सवारीसाधन क्षेत्रमा विद्युतीय प्रविधिको प्रयोग विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ। नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग यात्रुवाहक तथा हलुका व्यावसायिक सवारीसाधनबाट क्रमशः भारी सवारीसाधनतर्फ पनि विस्तार हुँदै गएको अवस्थामा जगदम्बा मोटर्सले नयाँ विद्युतीय विकल्प ल्याउन लागेको हो।

    एक्स–५०००ई ६x४ विद्युतीय ट्र्याक्टर भारी सामान ढुवानी तथा व्यावसायिक यातायातका लागि लक्षित गरिएको छ। त्यस्तै, एक्स–५०००ई ६x४ विद्युतीय डम्प ट्रक निर्माण, खानी तथा कठिन भौगोलिक क्षेत्रमा हुने कामका लागि डिजाइन गरिएको कम्पनीले जनाएको छ। दुवै मोडलमा स्याक्म्यानको विद्युतीय शक्ति प्रणाली प्रयोग गरिएको छ।

    सवारीसाधनमा छिटो चार्ज गर्न सकिने सुविधा, स्मार्ट नियन्त्रण प्रणाली तथा ब्याट्री व्यवस्थापन प्रणाली रहेको बताइएको छ। यी प्रविधिले व्यावसायिक प्रयोगकर्तालाई सञ्चालन समय व्यवस्थापन गर्न तथा विभिन्न कार्य वातावरणमा सवारीसाधन सञ्चालनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    यी दुई मोडलको आगमनसँगै जगदम्बा मोटर्स नेपालमा भारी विद्युतीय व्यावसायिक सवारीसाधनको क्षेत्रमा प्रवेश गर्ने भएको छ। ढुवानी, निर्माण, खानी तथा अन्य औद्योगिक क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोगका लागि विकल्प खोजी भइरहेका बेला स्याक्म्यानका यी मोडलले नेपाली बजारमा नयाँ विकल्प थप्ने कम्पनीको अपेक्षा छ।

    एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प ट्रकको सार्वजनिक प्रदर्शन, उपलब्धता तथा मूल्यसम्बन्धी थप विवरण आगामी दिनमा सार्वजनिक गरिने जगदम्बा मोटर्सले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar