स्थापनाको दुई दशक पूरा गर्दै ग्लोबल आइएमई बैंक : १० प्रतिशत लाभांश प्रस्ताव

  • कालिका खवर
  • शुक्रबार, अशोज ९, २०८३
  • काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले स्थापनाको दुई दशक पूरा गरेको अवसरमा आगामी १६ असोजमा आफ्नो २०औं वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ। दुई दशकको व्यावसायिक यात्रामा वित्तीय आकार, ग्राहक आधार, सेवा सञ्जाल, डिजिटल क्षमता तथा व्यावसायिक पहुँच विस्तार गर्दै आएको बैंकले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव साधारणसभामा लैजाने निर्णय गरेको छ। उक्त साधारणसभाबाट पारित भएपछि सेयरधनीहरूलाई लाभांश वितरण गरिनेछ।

    बैंकको हाल ३४१ शाखा, ३६६ एटीएम, १४१ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र विदेशमा ३ प्रतिनिधि कार्यालयसहित १ हजारभन्दा बढी सेवा केन्द्रहरूको मजबुत सञ्जाल विस्तार भइसकेको छ। पछिल्लो वित्तीय विवरण अनुसार बैंकको कुल निक्षेप ७०० अर्ब ४४ करोड रुपैयाँ, कुल कर्जा ४७६ अर्ब ८४ करोड रुपैयाँ तथा चुक्ता पुँजी ३८ अर्ब ११ करोड ६० लाख रुपैयाँ पुगेको छ। सो अवधिमा बैंकले ६ अर्ब ३ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १५.९० प्रतिशतको वृद्धि हो। साथै, समीक्षा अवधिमा बैंकको निक्षेपमा २१.८० प्रतिशत र कर्जा लगानीमा ८.२२ प्रतिशतले वृद्धि भएको छ।

    आफ्नो वित्तीय उपलब्धिसँगै बैंकले आगामी व्यावसायिक रणनीतिका रूपमा दिगो बैंकिङ (सस्टेनेबल बैंकिङ) र हरित वित्त (ग्रीन फाइनान्सिङ) लाई उच्च प्राथमिकतामा राखेर अघि बढ्ने नीति लिएको छ। दिगो बैंकिङ सम्बन्धी गतिविधिलाई संस्थागत बनाउन बैंकले ‘सस्टेनेबल बैंकिङ कमिटी’ गठन गर्नुका साथै ‘सस्टेनेबिलिटी स्टेटमेन्ट’ समेत सार्वजनिक गरिसकेको छ। बैंकले ग्रीन फाइनान्सिङलाई केवल वातावरण संरक्षणसँग मात्र सीमित नराखी दीर्घकालीन व्यावसायिक अवसर र जोखिम व्यवस्थापनको कडीका रूपमा विकास गर्ने रणनीति अख्तियार गरेको छ।

    यसै अन्तर्गत वातावरणमैत्री आवास र ऊर्जा प्रयोगलाई प्रोत्साहन गर्न ‘ग्रीन होम लोन’ र ‘रूफटप सोलार पीभी लोन’ जस्ता सुविधाहरू अघि सारिएका छन्। त्यसैगरी, कृषि क्षेत्रमा जलवायु जोखिम न्यूनीकरण गर्न ‘क्लाइमेट-स्मार्ट एग्रिकल्चर लोन’ र साना तथा मझौला उद्यमलाई वातावरणमैत्री बनाउन ‘ग्रीन एसएमई लोन’ जस्ता नवीन वित्तीय उत्पादनहरू बैंकले विस्तार गरिरहेको छ। वित्तीय समावेशीकरणलाई दिगो वित्तसँग जोड्दै बैंकले संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य (एसडीजी) हासिल गर्न वित्तीय क्षेत्रबाट योगदान पुर्‍याउने प्रतिबद्धता जनाएको छ।

    अन्तर्राष्ट्रिय अभ्यास अनुरूप बैंकले ‘पार्टनरसिप फर कार्बन एकाउन्टिङ फाइनान्सियल्स’ (पीसीएएफ) मा आबद्ध भएर आफ्ना वित्तीय गतिविधिहरूको ‘कार्बन फुटप्रिन्ट’ मापन तथा व्यवस्थापनको कार्य थालनी गरिसकेको छ। जलवायु सम्बन्धी प्रभावलाई पारदर्शी बनाउन बैंकले ‘कार्बन डिस्क्लोजर रिपोर्ट’ सार्वजनिक गर्ने अभ्यासलाई अघि बढाएको छ। आगामी दिनहरूमा ‘ग्रीन बन्ड्स’, ‘सस्टेनेबिलिटी बन्ड्स’, ‘ब्लेन्डेड फाइनान्स’ तथा ‘क्लाइमेट फन्ड्स’ जस्ता आधुनिक वित्तीय उपकरणहरूको विकास र परिचालन गर्दै हरित कर्जालाई बैंकको दीर्घकालीन दिगो व्यावसायिक वृद्धिको मुख्य आधार बनाउने बैंकको लक्ष्य रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar