एफएनसीसीआईको यातायात तथा पारवहन समितिको उपसभापतिमा मेघराज पौडेल मनोनित

  • कालिका खवर
  • बिहिबार, अशोज ८, २०८३
  • काठमाडौं । अटोमोबाइल व्यवसायमा लामो समयदेखि सक्रिय मेघराज पौडेल नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको यातायात तथा पारवहन समितिको उपसभापतिमा मनोनित भएका छन्।

    एफएनसीसीआईले कार्यकारिणी समिति सदस्य लिलेन्द्र प्रसाद प्रधानको सभापतित्वमा गठन गरेको यातायात तथा पारवहन समितिको उपसभापतिमा पौडेललाई मनोनयन गरेको हो। महासंघले यातायात तथा पारवहन क्षेत्रका चुनौती समाधान, व्यापार सहजीकरण तथा महासंघका कार्यक्रमलाई प्रभावकारी बनाउन पौडेलको अनुभव र सक्रिय सहभागिताले योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

    पौडेल हाल नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका सचिव तथा अल्फा अटोमोटिभ प्रालिका निर्देशकका रूपमा अटोमोबाइल क्षेत्रमा सक्रिय छन्। उनी लामो समयदेखि नेपालमा अटोमोबाइल व्यवसाय, बजार विस्तार तथा नीतिगत विषयमा काम गर्दै आएका छन्।

    नेपालमा रोयल एनफिल्डको बजार विस्तारको सुरुवाती चरणदेखि नै अटोमोबाइल क्षेत्रसँग जोडिएका पौडेलले एउटा सोरुमबाट वार्षिक करिब ५० वटा मोटरसाइकल बिक्री हुने अवस्थादेखि हालको विस्तारित बजारसम्मको परिवर्तनलाई नजिकबाट अनुभव गरेका छन्।

    व्यवसायसँगै पौडेल अटोमोबाइल क्षेत्रका नीति तथा व्यावसायिक मुद्दामा समेत सक्रिय रहँदै आएका छन्। नाडामार्फत उनले कर तथा राजस्व नीति, एसेम्बली उद्योग, एमआरपी, व्यवसाय सञ्चालनको वातावरण तथा स्थानीय उत्पादन र पार्ट्सको प्रयोगलगायत विषयमा सरकार तथा सम्बन्धित निकायसँग हुने छलफलमा सहभागिता जनाउँदै आएका छन्।

    नेपालको अटोमोबाइल उद्योगलाई दीर्घकालीन रूपमा अघि बढाउन स्थानीय उत्पादन तथा एसेम्बली उद्योगको विकास, अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्ने स्वदेशी पार्ट्सको प्रयोग र व्यवसायमैत्री नीतिगत वातावरण आवश्यक रहेको विषयमा पौडेलले जोड दिँदै आएका छन्।

    नयाँ जिम्मेवारीसँगै पौडेलको भूमिका कम्पनी तथा ब्रान्डको व्यावसायिक गतिविधिमा मात्र सीमित नभई समग्र यातायात तथा पारवहन क्षेत्रका नीतिगत र व्यावसायिक विषयमा समेत केन्द्रित हुने भएको छ।

    एफएनसीसीआईको यातायात तथा पारवहन समितिले यातायात व्यवसाय, पारवहन, व्यापार सहजीकरण तथा यस क्षेत्रसँग सम्बन्धित नीतिगत विषयमा निजी क्षेत्रको धारणा प्रस्तुत गर्दै आएको छ। समितिको उपसभापतिको जिम्मेवारीमा पौडेलको व्यावसायिक अनुभवले आगामी छलफल, पहल तथा नीतिगत संवादमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar