नेपाल इन्स्योरेन्स कम्पनी ८०औँ वर्षमा प्रवेश

  • कालिका खवर
  • बिहिबार, अशोज ८, २०८३
  • काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड ७९औँ वार्षिकोत्सव पूरा गर्दै आजदेखि ८०औँ वर्षमा प्रवेश गरेको छ। लामो इतिहास बोकेको कम्पनीले निर्जीवन बीमा क्षेत्रमा निरन्तर सेवा प्रदान गर्दै आफ्नो ८०औँ वर्षको यात्रा सुरु गरेको हो। नेपाल बैंक लिमिटेडको स्वामित्वमा वि.सं. २००४ सालमा नेपाल माल चलानी र बीमा कम्पनी लिमिटेडका रूपमा स्थापना भएको कम्पनीले उद्योग परिषद्बाट वि.सं. २००६ सालमा इजाजत प्राप्त गरेको थियो। त्यसपछि वि.सं. २०१६ सालमा कम्पनीको नाम परिवर्तन गरी नेपाल इन्स्योरेन्स एन्ड ट्रान्सपोर्ट कम्पनी लिमिटेड कायम गरिएको थियो। कम्पनीका अनुसार वि.सं. २०४८ सालमा पुनः नाम परिवर्तन गरी नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड कायम गरिएको हो। कम्पनीले बीमा ऐन, २०७९, बीमा नियमावली, २०८१ तथा कम्पनी ऐन, २०६३ बमोजिम विगत ७९ वर्षदेखि निर्जीवन बीमा सेवा प्रदान गर्दै आएको जनाएको छ। ८०औँ वर्ष प्रवेशको अवसरमा कम्पनीले आफ्ना शेयरधनी, ग्राहक, नियमनकारी निकाय, कर्मचारी, सर्वेयर, बीमा अभिकर्ता तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरेको छ। आगामी दिनमा पनि सबै पक्षबाट निरन्तर सहयोग र सद्भाव प्राप्त हुने विश्वास कम्पनीले व्यक्त गरेको छ। हाल नेपाल इन्स्योरेन्समा २१८ कर्मचारी कार्यरत छन् भने देशभर ५४ वटा शाखा कार्यालय सञ्चालनमा रहेका छन्। कम्पनीले प्रचलित ऐन, कानुन तथा नियामक निकायबाट जारी नीति–निर्देशनको पूर्ण पालना गर्दै आगामी दिनमा अझ प्रभावकारी र उत्कृष्ट बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar