इनड्राइभको सेफ ड्राइभिङ अनलाइन कोर्स १,५०० भन्दा बढी ड्राइभर पार्टनरले पूरा गरे

  • कालिका खवर
  • सोमवार, अशोज ५, २०८३
  • काठमाडौँ । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालमा सञ्चालन गरेको ‘सेफ ड्राइभिङ अनलाइन कोर्स’ १ हजार ५ सयभन्दा बढी ड्राइभर पार्टनरले सफलतापूर्वक पूरा गरेका छन्।

    सडक सुरक्षा, व्यावसायिक आचरण तथा आपतकालीन परिस्थितिमा अपनाउनुपर्ने सुरक्षा उपायबारे ड्राइभर पार्टनरलाई सचेत गराउने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिम महत्वपूर्ण उपलब्धिमा पुगेको इनड्राइभले जनाएको छ।

    मोबाइलबाटै पूरा गर्न सकिने गरी तयार गरिएको करिब २० मिनेटको अनलाइन कोर्सले सुरक्षित रूपमा सवारी सञ्चालन, यात्रुसँग व्यावसायिक व्यवहार तथा यात्राका क्रममा उत्पन्न हुन सक्ने विभिन्न परिस्थितिको व्यवस्थापनसम्बन्धी व्यावहारिक जानकारी प्रदान गर्छ। कोर्स पूरा गर्ने ड्राइभर पार्टनरले इनड्राइभबाट डिजिटल प्रमाणपत्र प्राप्त गर्ने व्यवस्था छ।

    कोर्समा मुख्यतः अन–प्ल्याटफर्म सुरक्षा तथा व्यावसायिक सीमाहरू, राइड–हेलिङ सेवाका लागि सडक सुरक्षासम्बन्धी आधारभूत ज्ञान तथा आपतकालीन अवस्था, रिपोर्टिङ र एसओएस सुविधाको प्रयोगसम्बन्धी विषय समेटिएका छन्।

    इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन्स स्पेसलिस्ट सुनिता जिमी राईले १ हजार ५ सयभन्दा बढी ड्राइभर पार्टनरले कोर्स पूरा गरी प्रमाणपत्र प्राप्त गर्नु महत्वपूर्ण उपलब्धि भएको बताइन्। ड्राइभरहरू लामो समय सडकमा रहने भएकाले उनीहरूलाई व्यवहारमा उपयोगी हुने सुरक्षा जानकारी उपलब्ध गराउनु महत्वपूर्ण रहेको उनको भनाइ छ।

    इनड्राइभ नेपालकी कम्युनिकेसन्स म्यानेजर मञ्जीता गुरुङले ड्राइभर पार्टनरले आफ्नो नियमित कामबाट धेरै समय छुट्याउनु नपरोस् भन्ने उद्देश्यले कोर्सलाई छोटो, सरल र सहज बनाइएको बताइन्। प्राप्त प्रतिक्रियाले व्यावहारिक तथा सजिलै बुझ्न सकिने सुरक्षा तालिमले ड्राइभरको दैनिक कार्यशैलीमा सकारात्मक प्रभाव पार्न सक्ने देखाएको उनले बताइन्।

    कोर्स पूरा गरेका मोटरसाइकल ड्राइभर पार्टनर विशाल पाख्रिनले सडक सुरक्षा, आपतकालीन अवस्था र एसओएस सुविधासम्बन्धी जानकारी उपयोगी लागेको बताए। त्यस्तै, क्याब ड्राइभर पार्टनर कमल घिमिरेले सुरक्षित ड्राइभिङसँगै यात्रुसँगको संवाद, व्यावसायिक व्यवहार र विभिन्न परिस्थितिको व्यवस्थापन पनि महत्वपूर्ण रहेको बुझ्न कोर्सले सहयोग गरेको बताए।

    सेफ ड्राइभिङ कोर्सका तीन मुख्य मोड्युल

    कोर्स ए : अन–प्ल्याटफर्म सुरक्षा र व्यावसायिक सीमाहरू
    यात्रुसँग सुरक्षित, सम्मानजनक र व्यावसायिक व्यवहार कायम राख्ने तथा आवश्यक व्यावसायिक सीमाको पहिचान र पालना गर्ने विषय यसमा समेटिएको छ।

    कोर्स बी : राइड–हेलिङका लागि सडक सुरक्षासम्बन्धी आधारभूत ज्ञान
    रक्षात्मक ड्राइभिङ, बढी ट्राफिक हुने क्षेत्र तथा अपरिचित स्थानमा अपनाउनुपर्ने सावधानी र दैनिक सडक सुरक्षा अभ्यासबारे जानकारी दिइन्छ।

    कोर्स सी : आपतकालीन अवस्था, रिपोर्टिङ र एसओएस प्रयोग
    आपतकालीन अवस्थामा शान्त र प्रभावकारी रूपमा प्रतिक्रिया दिने, इनड्राइभ एपमा उपलब्ध एसओएस सुविधा प्रयोग गर्ने तथा घटना भएमा उचित माध्यमबाट रिपोर्ट गर्ने प्रक्रियाबारे जानकारी दिइन्छ।

    इनड्राइभले ड्राइभर पार्टनरको सुरक्षा र व्यावसायिक विकासलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि यस्ता व्यावहारिक तालिम तथा सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar