सन नेपाल लाइफले ल्यायो ‘सन स्मार्ट प्रोटेक्सन बीमा योजना’

  • कालिका खवर
  • शुक्रबार, अशोज २, २०८३
  • काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ९औँ वार्षिकोत्सवको अवसरमा नयाँ जीवन बीमा योजना ‘सन स्मार्ट प्रोटेक्सन बीमा योजना’ सार्वजनिक गरेको छ।

    असोज १ गते आयोजित उत्पादन शुभारम्भ कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल तथा उच्च व्यवस्थापनका कर्मचारीहरूको उपस्थितिमा उक्त बीमा योजना शुभारम्भ गरिएको हो। कम्पनीका अनुसार १८ वर्षदेखि ६५ वर्षसम्मका व्यक्तिलाई लक्षित गरी कम लागतमा ठूलो आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्यले योजना ल्याइएको हो।

    विशेषगरी युवा अवस्थामा रहेका परिवारका संरक्षकको व्यावसायिक तथा पारिवारिक दायित्वलाई ध्यानमा राख्दै आर्थिक सुरक्षा प्रदान गर्नु योजनाको मुख्य उद्देश्य रहेको कम्पनीले जनाएको छ। यस योजनाअन्तर्गत न्यूनतम १० लाख रुपैयाँदेखि बीमितको आयस्रोतका आधारमा आवश्यकताअनुसार बीमाङ्क रकम छनोट गर्न सकिनेछ। बीमा शुल्क मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक रूपमा भुक्तानी गर्न सकिने सुविधा रहेको छ। बीमितको निधन भएमा बीमाङ्क रकमको १०० प्रतिशत दाबी भुक्तानी हुने कम्पनीले जनाएको छ। यस्तै, ऐच्छिक सुविधाअन्तर्गत ५० हजार रुपैयाँसम्मको किरिया खर्च तथा १ लाख रुपैयाँसम्मको ‘सन मेडिकेयर’ आपत्कालीन स्वास्थ्य सेवा सुविधा पनि लिन सकिनेछ। ‘सन स्मार्ट प्रोटेक्सन बीमा योजना’ कम्पनीका सबै शाखा तथा उपशाखाबाट खरिद गर्न सकिनेछ।

    साथै डिजिटल माध्यमबाट पनि योजना खरिद गर्न सकिने कम्पनीले जनाएको छ। डिजिटल खरिदका लागि कम्पनीको वेबसाइट तथा ‘सन कनेक्ट’ प्रयोग गर्न सकिनेछ। सन नेपाल लाइफले २०७४ असोज ६ गते बीमकका रूपमा दर्ता भई औपचारिक व्यवसाय सुरु गरेको हो। कम्पनीको अधिकृत पुँजी १० अर्ब रुपैयाँ र चुक्ता पुँजी ५.२८ अर्ब रुपैयाँ रहेको छ।

    कम्पनी ISO 27001:2022 प्रमाणित रहेको र डिजिटल प्रविधिमैत्री जीवन बीमा सेवामा केन्द्रित रहेको जनाएको छ। हाल कम्पनीले ४० हजारभन्दा बढी अभिकर्ता तथा १३६ शाखा तथा उपशाखामार्फत सेवा प्रदान गर्दै आएको छ। दुर्घटना, अशक्तता तथा आपत्कालीन रोगका कारण उत्पन्न हुन सक्ने आर्थिक जोखिम न्यूनीकरण गर्दै दीर्घकालीन वित्तीय सुरक्षा प्रदान गर्नु कम्पनीको मुख्य उद्देश्य रहेको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar