‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ नारासहित नवौं नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी सुरु

  • कालिका खवर
  • बिहिबार, अशोज १, २०८३
  • काठमाडौं । ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नारासहित नवौं नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी–२०८३ काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा बिहीबारदेखि सुरु भएको छ।

    नेपाल चेम्बर अफ कमर्सको ७५औँ हीरक वर्षको अवसरमा नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल जग्गा तथा आवास विकास महासंघको आयोजना तथा नेपाल चेम्बर अफ कमर्सको सह–आयोजनामा चारदिने प्रदर्शनी आयोजना गरिएको हो। प्रदर्शनीको औपचारिक उद्घाटन प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले पानसमा दीप प्रज्वलन गरी गरे।

    उद्घाटन समारोहमा सभामुख अर्यालले जग्गा तथा आवास क्षेत्रमा देखिएका हदबन्दीलगायतका समस्या समाधानका लागि सरकार प्रयासरत रहेको बताए। उनले व्यवसायीका साथै साना व्यवसायी र दूरदराजका नागरिकका समस्यालाई समेत सम्बोधन गर्नुपर्नेमा जोड दिँदै विदेशमा रहेका नेपालीलाई स्वदेशमा लगानी गर्ने वातावरण बनाउन आवश्यक रहेको बताए।

    नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले भूकम्प, कोभिडलगायतका कठिन परिस्थितिमा पनि निजी क्षेत्रले अर्थतन्त्रमा योगदान दिँदै आएको बताए। उनले घरजग्गा व्यवसाय अर्थतन्त्रको महत्वपूर्ण आधार भएकाले यो क्षेत्र चलायमान हुँदा अन्य व्यवसायमा समेत सकारात्मक प्रभाव पर्ने धारणा राखे।

    अध्यक्ष अग्रवालले निजी क्षेत्रलाई भृकुटीमण्डपस्थित प्रदर्शनी स्थल सञ्चालनको जिम्मेवारी दिए वर्षभरि प्रभावकारी रूपमा सञ्चालन गर्न सकिने बताए। उनले विदेशी तथा गैरआवासीय नेपालीलाई नेपालमा अपार्टमेन्ट खरिद गर्न सहज हुने कानुनी व्यवस्था गर्नसमेत सरकारसँग आग्रह गरे।

    नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष ई. दीपक कुँवरले निजी क्षेत्रलाई विश्वास गरी ऐन तथा नियममा आवश्यक सुधार गर्न सके आवास क्षेत्रमा थप काम गर्न सकिने बताए। उनले हदबन्दीको समस्या समाधानसँगै कित्ताकाटको दीर्घकालीन समाधान आवश्यक रहेको उल्लेख गरे।

    कुँवरले हालैको बाढीबाट विस्थापित नागरिकको पुनर्वास तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा रियल स्टेट व्यवसायी सरकारसँग सहकार्य गर्न तयार रहेको बताए। उनले थानकोटदेखि शक्तिखोरसम्म निजी क्षेत्रको सहकार्यमा सुरुङमार्ग निर्माण गर्न सकिने धारणा पनि राखे।

    महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले दर्तावाल रियल स्टेट कम्पनीलाई जग्गाको हदबन्दीमा छुट, लोन टु भ्यालु रेसियो ८० प्रतिशत पुर्‍याउने, ३ करोड रुपैयाँसम्मको घरजग्गा खरिदमा स्वघोषित आम्दानीको स्रोतलाई मान्यता दिनेलगायतका नीतिगत माग अघि सारे।

    एक्स्पो आयोजना तथा तयारी समितिका संयोजक रोशन भोयध्योका अनुसार प्रदर्शनीमा १०० भन्दा बढी स्टल राखिएका छन्। चार दिनसम्म वास्तुशास्त्र, विपद् उत्थानशील पूर्वाधार, बाढीपीडितको पुनर्वास तथा सार्वजनिक–निजी साझेदारी (पीपीपी) मार्फत एकीकृत आवास विकासका विषयमा प्राविधिक सेमिनार तथा प्यानल छलफल आयोजना गरिनेछ।

    असोज १ देखि ४ गतेसम्म सञ्चालन हुने प्रदर्शनी बिहान १० बजेदेखि साँझ ६ बजेसम्म खुला रहनेछ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar