नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला

  • कालिका खवर
  • बुधबार, भदौ ३१, २०८३
  • काठमाडौँ। नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप कार्यक्रमको सातौँ समूह तथा नबिल एसएसई सर्टिफिकेट कोर्सको नयाँ समूहका लागि आवेदन आह्वान गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गर्दै आएका दुवै कार्यक्रमका लागि भदौ ३० गतेदेखि आवेदन खुला गरेको हो।

    इच्छुक आवेदकले आगामी असोज २६ गते (१२ अक्टोबर २०२६) सम्म आवेदन दिन सक्नेछन्। १८ वर्ष उमेर पूरा भएका नवीन उद्यमशील सोच भएका नेपाली नागरिकले आवेदन दिन सक्ने बैंकले जनाएको छ। छनोट भएका सहभागीले कार्यक्रममा कम्तीमा ९० प्रतिशत उपस्थिति कायम गर्नुपर्नेछ।

    बैंकका अनुसार महिला, युवा, गरिब, वञ्चित तथा सीमान्तकृत समुदायका प्रतिबद्ध र सक्षम उद्यमीलाई आवेदन दिन प्रोत्साहित गरिएको छ। नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले नबिल एसएसईमार्फत उद्यमशीलता विकाससँगै समुदायमा दिगो आर्थिक अवसर सिर्जना गर्न सक्ने व्यक्तिको क्षमता विकासमा लगानी भइरहेको बताए।

    “हाम्रो उद्देश्य प्रतिबद्ध उद्यमीहरूको पहिचान गर्ने, उनीहरूको क्षमता अभिवृद्धि गर्ने तथा दिगो उद्यम निर्माण र नेपालको समावेशी आर्थिक विकासमा योगदान पुर्‍याउन आवश्यक ज्ञान, सञ्जाल र उद्यमशीलता इकोसिस्टमसँग उनीहरूलाई जोड्नु हो,” सिइओ ज्ञवालीले भने।

    नबिल बैंकका अनुसार फेलोसिप र सर्टिफिकेट कोर्समार्फत हालसम्म १ हजार ५८० जना सहभागीलाई तालिम प्रदान गरिएको छ। तालिमपछि ३१८ वटा उद्यम स्थापना भएका छन् भने ती उद्यममार्फत प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा १९ हजार ३०३ जनाका लागि रोजगारी तथा जीविकोपार्जनका अवसर सिर्जना भएको बैंकले जनाएको छ। फेलोसिपका ६ समूहबाट ११३ जना प्रशिक्षित भइसकेका छन् भने ९३ वटा फेलो–नेतृत्वका उद्यम सञ्चालनमा छन्।

    त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायअन्तर्गतको स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्यमा सञ्चालन हुने नबिल एसएसई फेलोसिप ६ महिनाको उद्यम विकास कार्यक्रम हो। त्यस्तै, सर्टिफिकेट कोर्स करिब तीन महिनाको व्यवहारिक उद्यमशीलता विकास कार्यक्रम हो, जसले विद्यार्थी, आकांक्षी उद्यमी, प्रारम्भिक चरणका संस्थापक तथा सूक्ष्म तथा साना उद्यमीलाई लक्षित गर्छ। यस वर्ष सर्टिफिकेट कोर्स देशभरका १० शैक्षिक साझेदार संस्थामार्फत सञ्चालन हुने बैंकले जनाएको छ। कार्यक्रम तथा आवेदनसम्बन्धी थप जानकारी नबिल बैंकको आधिकारिक वेबसाइट र सम्बन्धित शैक्षिक साझेदार संस्थाबाट प्राप्त गर्न सकिनेछ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar