चीनमा सर्वाधिक बिक्रीपछि नेपालमा निभो क्यू०५, नाडामा पाएको थियो ठूलो बुकिङ

  • कालिका खवर
  • बुधबार, भदौ ३१, २०८३
  • चांगान निभो क्यू०५ लगातार पाँच महिनादेखि चीनको सर्वाधिक बिक्री हुने कम्प्याक्ट एसयूभी

    काठमाडौँ। चांगान निभो क्यू०५ ले चीनमा आफ्नो बलियो बजार प्रदर्शनलाई निरन्तरता दिँदै सन् २०२६ को अगस्टमा पनि सर्वाधिक बिक्री हुने कम्प्याक्ट एसयूभीको स्थान हासिल गरेको छ। यससँगै क्यू०५ लगातार पाँच महिनादेखि आफ्नो सेग्मेन्टको शीर्षस्थानमा रहन सफल भएको छ।

    चीनको पछिल्लो खुद्रा बिक्री तथ्यांकअनुसार अगस्टमा क्यू०५ का १७ हजार ३४९ युनिट बिक्री भएका छन्। अप्रिलदेखि अगस्टसम्म पाँच महिनाको अवधिमा क्यू०५ का कुल ८६ हजार ८९६ युनिट खुद्रा बिक्री भएका छन्। अप्रिलमा १५ हजार ८१४, मेमा १५ हजार ९५४, जुनमा १८ हजार ९०८ र जुलाईमा १८ हजार ८७१ युनिट बिक्री भएका थिए।

    अगस्टको बिक्री सूचीमा क्यू०५ ले टोयोटा कोरोला क्रस, जिली बोयुए एल, टोयोटा आरएभी४, बीवाईडी सङ प्रो न्यू इनर्जी र जिली सिङयुए एललगायत मोडललाई पछि पारेको छ। कोरोला क्रस १४ हजार ६७५ युनिट बिक्रीसहित दोस्रो स्थानमा रहँदा जिली बोयुए एलको १४ हजार ३०२ र टोयोटा आरएभी४ को १४ हजार ६२ युनिट बिक्री भएको जनाइएको छ। यसअनुसार क्यू०५ ले निकटतम प्रतिस्पर्धीलाई २ हजार ६७४ युनिटले पछि पारेको छ।

    निभो क्यू०५ केही साताअघि मात्रै नेपालमा सार्वजनिक गरिएको हो। नाडा अटो शोमा ठूलो संख्यामा बुकिङ प्राप्त गरेको क्यू०५ ले नेपाली ग्राहकबाट उत्साहजनक प्रतिक्रिया पाएको कम्पनीले जनाएको छ। यसको डेलिभरी पनि केही दिनभित्र सुरु हुने बताइएको छ।

    क्यू०५ को लोकप्रियतामा स्पेस, कम्फर्ट, प्रविधि र मूल्यको संयोजनले भूमिका खेलेको कम्पनीको दाबी छ। २ हजार ७३५ एमएम ह्विलबेस रहेको यसमा फराकिलो क्याबिन, ढल्काउन मिल्ने पछाडिका सिट, व्यावहारिक लगेज क्षमता तथा विभिन्न स्टोरेज स्पेस उपलब्ध छन्।

    क्यू०५ मा सीएटीएल ब्याट्री सेल र ३सी फास्ट चार्जिङ प्रविधि प्रयोग गरिएको छ। कम्पनीका अनुसार उपयुक्त अवस्थामा यसले ब्याट्रीलाई करिब १५ मिनेटमा ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सक्छ। आधुनिक डिजाइन, एरोडाइनामिक प्रोफाइल, स्मार्ट फिचर र प्रिमियम इन्टेरियरले पनि यसको आकर्षण बढाउने कम्पनीको भनाइ छ।

    अगस्टसम्म लगातार पाँच महिनाको बिक्री नेतृत्वले चिनियाँ कम्प्याक्ट एसयूभी बजारमा निभो क्यू०५ को उपस्थितिलाई थप बलियो बनाएको छ। नेपालमा समेत सार्वजनिक भइसकेको क्यू०५ को डेलिभरी सुरु भएपछि नेपाली बजारमा यसको बिक्री प्रदर्शन कस्तो रहनेछ भन्ने चासो बढेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar