कामना सेवा विकास बैंकको २०औँ वार्षिक साधारणसभाबाट १५ प्रतिशत नगद लाभांश पारित

  • कालिका खवर
  • बुधबार, भदौ ३१, २०८३
  • काठमाडौँ। कामना सेवा विकास बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। बैंकको वार्षिक साधारणसभा भदौ ३१ गते बुधबार काठमाडौँको भाटभटेनीस्थित आम्रपाली बैंक्वेटमा सम्पन्न भएको हो।

    बैंक सञ्चालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न सभाले अग्राधिकार शेयरधनीलाई अग्राधिकार शेयर बाँडफाँट भएको मितिदेखि २०८३ असार मसान्तसम्मको अवधिका लागि अनुपातिक रूपमा ९ प्रतिशत लाभांश तथा साधारण शेयरधनीलाई चुक्तापुँजीको १५ प्रतिशत (करसमेत) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

    सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८२/८३ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा–नोक्सान हिसाब, सोही आर्थिक वर्षको नगद प्रवाह विवरण, नाफा–नोक्सान बाँडफाँट हिसाबलगायत वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू सर्वसम्मतिले पारित गरेको छ।

    त्यसैगरी, सभाले बाह्य लेखापरीक्षकका रूपमा एन.बी.एस.एम. एन्ड एसोसिएट्सलाई नियुक्त गर्ने प्रस्तावसमेत पारित गरेको छ।

    सभामा शेयरधनीहरूले बैंकको वित्तीय अवस्था तथा आगामी योजनासँग सम्बन्धित विभिन्न जिज्ञासा राखेका थिए। शेयरधनीका जिज्ञासाको जवाफ बैंकका अध्यक्ष सुदीप आचार्य र प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले दिएका थिए।

    शेयरधनीका प्रश्नको जवाफ दिँदै प्रमुख कार्यकारी अधिकृत थकालीले बैंक निरन्तर दोहोरो अंकमा लाभांश वितरण गर्न सफल भएको उल्लेख गर्दै आगामी दिनमा संस्थालाई थप दिगो र सबल बनाउने प्रतिबद्धता व्यक्त गरे।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar