जेनजी आन्दोलनमा क्षतिग्रस्त गौशाला प्रहरी बिटको हिरासत भवन पुनर्निर्माण गरी हस्तान्तरण

  • कालिका खवर
  • आइतवार, भदौ २८, २०८३
  • काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त गौशाला प्रहरी बिट परिसरमा पुनर्निर्माण गरिएको प्रहरी हिरासत भवन नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ ।

    कम्पनीले आज आयोजित एक कार्यक्रममा उक्त भवन नेपाल प्रहरीलाई हस्तान्तरण गरेको हो । आन्दोलनका क्रममा क्षति पुगेका प्रहरी संरचनाको पुनर्निर्माणका लागि नेपाल प्रहरीबाट अनुरोध आएपछि हिमालयन एभरेष्ट इन्स्योरेन्सले भवन निर्माणको काम अघि बढाएको थियो ।

    हस्तान्तरण कार्यक्रममा कम्पनीकी प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठले भवन निर्माणलाई समुदाय, सार्वजनिक सुरक्षा र राज्यको सेवा प्रवाहमा निजी क्षेत्रको जिम्मेवार योगदानका रूपमा लिएको बताइन् । उनका अनुसार बीमाको मूल उद्देश्य जोखिम न्यूनीकरण, सुरक्षा र भविष्यप्रतिको भरोसा निर्माण गर्नु भएकाले कम्पनीले सामाजिक आवश्यकतासँग जोडिएका क्षेत्रमा निरन्तर योगदान गर्दै जानेछ ।

    कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, हिमालयन एभरेष्ट इन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठ, सहायक प्रमुख कार्यकारी अधिकृत सुदर्शन श्रेष्ठ, प्रमुख सञ्चालन अधिकृत राजकुमार खड्कालगायत नेपाल प्रहरी तथा कम्पनीका अधिकारीहरूको उपस्थिति थियो ।

    कम्पनीले पुनर्निर्मित हिरासत भवनबाट प्रहरीलाई दैनिक जिम्मेवारी व्यवस्थित र प्रभावकारी रूपमा निर्वाह गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले सार्वजनिक सुरक्षा, स्वास्थ्य, शिक्षा तथा विपद् व्यवस्थापनजस्ता क्षेत्रमा सामाजिक उत्तरदायित्वअन्तर्गत आगामी दिनमा पनि योगदान गर्ने जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar