सीजी मोटर्सको आम्दानी घट्यो

  • कालिका खवर
  • आइतवार, भदौ २८, २०८३
  • काठमाडौं । अटोमोबाइल व्यवसायमा सक्रिय सीजी मोटर्सको आम्दानी र नाफामा दबाब देखिएको छ । चालु आर्थिक वर्षको पहिलो ९ महिनामा कम्पनीले ८ अर्ब ८९ करोड रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको आम्दानी घटेको हो । कम्पनीको कारोबार घट्नुमा केही प्रमुख ब्रान्डको बिक्री रोकिँदा परेको असर मुख्य कारण मानिएको छ ।

    सीजी मोटर्सको व्यापारमा महत्वपूर्ण हिस्सा रहेको नेटा भीको बिक्री सन् २०२५ मेदेखि बन्द भएको थियो । त्यस्तै, केवाईसी ब्रान्डको कारोबार पनि सन् २०२६ जनवरीदेखि रोकिएको छ । यी दुई ब्रान्डले आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको कुल आम्दानीमा करिब ६८ प्रतिशत योगदान गरेका थिए । आर्थिक वर्ष २०८१/८२ मा पनि उनीहरूको हिस्सा करिब २७ प्रतिशत थियो ।

    चारपांग्रे गाडीको कारोबार घटेपछि कम्पनीको आम्दानीमा दुईपांग्रे सवारीको हिस्सा बढेको छ । अघिल्लो आर्थिक वर्षमा कुल आम्दानीको करिब ३२ प्रतिशत रहेको दुईपांग्रे सवारीको हिस्सा अहिले ५७ प्रतिशत पुगेको छ । तर, दुईपांग्रे सवारीमा चारपांग्रेको तुलनामा नाफाको मार्जिन कम हुने भएकाले व्यापार बढे पनि कम्पनीको नाफामा त्यसको अपेक्षित प्रभाव देखिन सकेको छैन ।

    बजारमा बढेको प्रतिस्पर्धाले पनि कम्पनीमाथि दबाब थपेको छ । बिक्री तथा वितरणमा हुने खर्च बढ्दा कम्पनीको सञ्चालन नाफा दर आर्थिक वर्ष २०८१/८२ को १५.१ प्रतिशतबाट घटेर चालु आर्थिक वर्षको ९ महिनामा ६.८ प्रतिशतमा झरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा १५ अर्ब २ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो । त्यसअघिका वर्षमा भने कम्पनीको आम्दानी क्रमशः करिब ६ अर्ब ९९ करोड र २ अर्ब ५ करोड रुपैयाँ थियो ।

    सीजी मोटर्सले नेपालभर ७५ वटा आधिकारिक बिक्रेता, १० वटा आफ्नै शोरुम र २१ वटा सेवा केन्द्र सञ्चालन गरिरहेको छ । कम्पनीले हिरो ब्रान्डका मोटरसाइकल तथा स्कुटर नेपालमै एसेम्बल गर्ने गरी फ्याक्ट्रीसमेत सञ्चालन गरिरहेको छ । तर, चिनियाँ विद्युतीय गाडीको बढ्दो प्रतिस्पर्धा तथा बजाज, होन्डा, यामाहा र टीभीएसजस्ता ब्रान्डसँगको प्रतिस्पर्धाबीच कम्पनीमाथि करिब ६ अर्ब ४० करोड रुपैयाँ ऋणभार पनि छ । घट्दो आम्दानी र नाफाबीच अब कम्पनीले आफ्नो बजार हिस्सा कसरी जोगाउँछ भन्ने चुनौती थपिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar