भोटेकोशी बाढीपीडितका लागि इनड्राइभद्वारा साढे ७ करोड सहयोग

  • कालिका खवर
  • बिहिबार, भदौ २५, २०८३
  • काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ।

    इनड्राइभ नेपालका प्रतिनिधिहरूको उपस्थितिमा कम्पनीले उक्त रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो।

    भदौ १० गते नेपाल–चीन सीमाक्षेत्र नजिकै गएको हिम तथा चट्टानी पहिरोका कारण आएको भोटेकोशी बाढीले रसुवासहित नुवाकोट र धादिङका विभिन्न स्थानमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको थियो। बाढीका कारण घर, विद्यालय, पुल, जलविद्युत् आयोजना तथा अन्य महत्वपूर्ण सार्वजनिक पूर्वाधारमा समेत क्षति पुगेको छ।

    यसैबीच, इनड्राइभले सरकारी कोषमा आर्थिक सहयोग गर्नुका साथै प्रभावित समुदायमा प्रत्यक्ष राहतसमेत उपलब्ध गराएको जनाएको छ। कम्पनीका अनुसार नुवाकोटको विदुर नगरपालिका–९ का बाढी प्रभावित परिवारलाई खाद्यान्न, सोलार बत्ती, इन्डक्सन चुलो, ब्लाङ्केट र स्यानिटरी प्याडलगायत अत्यावश्यक राहत सामग्री वितरण गरिएको छ।

    विपद्पछिको कठिन परिस्थितिमा प्रभावित परिवारको दैनिक जीवन सञ्चालनमा सहयोग पुर्‍याउने उद्देश्यले तत्काल आवश्यक सामग्री वितरण गरिएको कम्पनीले जनाएको छ।

    इनड्राइभका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत आर्सेन टोम्स्कीले नेपाल इनड्राइभ समुदायको महत्वपूर्ण हिस्सा भएकाले कठिन समयमा नेपाली जनताको साथमा उभिन चाहेको बताए।

    उनले बाढीका कारण प्रभावित तथा प्रियजन गुमाएका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै सहयोगले प्रभावित परिवारलाई तत्काल राहत तथा पुनर्स्थापना र पुनर्निर्माणका प्रयासमा योगदान पुग्ने विश्वास व्यक्त गरे।

    इनड्राइभले अझै बेपत्ता आफन्तको खबरको प्रतीक्षामा रहेका परिवार तथा बाढीबाट प्रभावित सम्पूर्ण समुदायप्रति ऐक्यबद्धता जनाउँदै कठिन समयमा आफूहरू उनीहरूको साथमा रहेको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar