२३ जिल्लामा बाढीको मध्यम जोखिम

  • कालिका खवर
  • बिहिबार, भदौ २५, २०८३
  • काठमाडौँ । आगामी तीन दिन देशका प्रमुख तथा साना नदीहरूमा जलसतह उल्लेख्य रूपमा बढ्ने देखिएको छ। बाढी पूर्वानुमान महाशाखाले बिहीबार बिहान जारी गरेको बुलेटिनअनुसार देशका प्रायः सबै मुख्य नदी प्रणालीमा बहाव बढ्ने अनुमान छ।

    आज बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र तिनका सहायक नदीहरूसहित कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तलै छ।

    महाशाखाका अनुसार आगामी तीन दिनसम्म कोशी, नारायणी, कर्णाली र महाकाली नदी प्रणालीका सम्पूर्ण क्षेत्रहरूमा जलसतह उल्लेख्य बढ्ने छ। त्यसैगरी कन्काई, बबई र पश्चिम राप्ती नदीमा पनि तीनै दिन जलसतह निरन्तर बढ्ने अनुमान गरिएको छ। बागमती र पूर्वी राप्ती नदीमा भने आज बहाव सामान्य बढे पनि भोलि र पर्सि उल्लेख्य रूपमा बढ्ने बुलेटिनमा उल्लेख छ। कमला नदीमा आज र भोलि जलसतह उल्लेख्य बढ्ने भए पनि पर्सि सामान्य मात्र बढ्ने पूर्वानुमान छ।

    आज ताप्लेजुङ, संखुवासभा, ओखलढुङ्गा, सोलुखुम्बू, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, रुकुम पूर्व, रुकुम पश्चिम, मुस्ताङ, मुगु, बाजुरा, बझाङ, दार्चुला र बैतडी जिल्ला भई बहने स-साना नदीहरूमा जलसतह उल्लेख्य बढ्नेछ। यी जिल्लाहरू भई बहने साना नदीमा आकस्मिक बाढीको ‘मध्यम जोखिम’ रहनेछ।

    भोलि र पर्सि सातै प्रदेश भई बहने केही स-साना नदीहरूमा बहाव ‘आकस्मिक बढ्न सक्ने’ पूर्वानुमान रहेको छ। महाशाखाले सम्भावित जोखिमबाट बच्न र पूर्वतयारीका लागि नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar