विजयनगर गाउँपालिकाका सडक आसपास वृक्षरोपण, ७० हजार बिरुवा निःशुल्क वितरण

  • कालिका खवर
  • बुधबार, भदौ २४, २०८३
  • कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिका र विजयनगर गाउँपालिकाका सडक, डिभाइडर, विद्यालय परिसर तथा सार्वजनिक स्थललाई हराभरा बनाउने लक्ष्यसहित गौतम बुद्ध साझेदारी वन उपभोक्ता समूह, विजयनगर–१, उज्ज्वलपुरले करिब ७० हजार बिरुवा निःशुल्क वितरण तथा रोपण अभियान अघि बढाएको छ।

    वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा वन क्षेत्र विस्तार गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियानअन्तर्गत स्थानीय हावापानी, माटो र क्षेत्रको आवश्यकताअनुसार विभिन्न प्रजातिका बिरुवा वितरण तथा रोपण भइरहेको समूहले जनाएको हो । अभियानमा सहगुन, जामुन, महुवा, निम, खैर, सितलचिनी तथा विभिन्न फूल प्रजातिका बिरुवा समावेश छन्। सडक किनारा, डिभाइडर, विद्यालय परिसर, सार्वजनिक क्षेत्र तथा खाली जमिनलाई प्राथमिकतामा राखेर बिरुवा रोप्ने काम भइरहेको छ।

    विशेषगरी कृष्णनगर र विजयनगर क्षेत्रका सडक डिभाइडर तथा सार्वजनिक स्थलमा फूल र सौन्दर्यवर्धक प्रजातिका बिरुवा रोपेर वातावरणलाई आकर्षक बनाउने प्रयास गरिएको छ। सडक आसपासको हरियालीले धुलो तथा प्रदूषण न्यूनीकरण गर्नुका साथै सार्वजनिक क्षेत्रको सौन्दर्य बढाउने अपेक्षा गरिएको छ।

    गौतम बुद्ध साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष प्रबेज आलम खानले वृक्षरोपणलाई केवल फोटो खिच्ने र कार्यक्रम गर्ने औपचारिकतामा सीमित नगरी दीर्घकालीन अभियानका रूपमा अघि बढाउनुपर्ने बताए। ‘एउटा बिरुवा रोप्नु मात्रै पर्याप्त हुँदैन, त्यसलाई हुर्काउने र संरक्षण गर्ने जिम्मेवारी पनि उत्तिकै महत्वपूर्ण हुन्छ। आज रोपिएको एउटा बिरुवा भोलिको पुस्ताका लागि ठूलो सम्पत्ति हो,’ अध्यक्ष खानले भने।

    उनका अनुसार वन तथा वातावरण संरक्षण सरकार वा कुनै एउटा संस्थाको मात्रै जिम्मेवारी नभई समुदाय र प्रत्येक नागरिकको साझा दायित्व हो। बिरुवा रोपणसँगै त्यसको संरक्षणमा स्थानीय समुदाय, किसान, विद्यालय, युवा तथा सामाजिक संघसंस्थाको सक्रिय सहभागिता आवश्यक रहेको उनले बताए।

    समूहका अनुसार वितरण गरिएका बिरुवामध्ये केही प्रजातिले भविष्यमा स्थानीय समुदायलाई आर्थिक लाभसमेत दिन सक्नेछन्। जामुन र महुवा आर्थिक रूपमा उपयोगी हुनेछन् भने निम, खैर र सितलचिनी वातावरणीय तथा औषधीय दृष्टिले महत्वपूर्ण मानिन्छन्। फूलका बिरुवाले सडक, डिभाइडर तथा सार्वजनिक स्थलको सौन्दर्य बढाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।

    समूहले स्थानीय नागरिक, किसान, विद्यालय, संघसंस्था तथा अन्य इच्छुक व्यक्तिहरूलाई निःशुल्क बिरुवा उपलब्ध गराउँदै वृक्षरोपणमा सहभागी हुन आह्वान गरेको छ। बिरुवा वितरणसँगै रोपिएका बिरुवाको संरक्षण र नियमित हेरचाहमा समेत स्थानीय समुदायलाई जोड्ने योजना रहेको समूहले जनाएको छ।

    वन संरक्षण, वृक्षरोपण तथा उपभोक्ताको हितसँग सम्बन्धित कार्यक्रमलाई निरन्तरता दिँदै आएको समूहले यस वर्षको अभियानलाई थप व्यवस्थित बनाउँदै कृष्णनगर र विजयनगरका धेरैभन्दा धेरै क्षेत्रमा बिरुवा पुर्‍याउने लक्ष्य लिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar