५६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम

  • कालिका खवर
  • बुधबार, भदौ २४, २०८३
  • काठमाडौँ। बाढी पूर्वानुमान महाशाखाले बुधबार बिहान जारी गरेको बुलेटिन अनुसार देशका मुख्य तथा सहायक नदीहरूमा आगामी तीन दिनसम्म जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान छ।

    आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तह भन्दा तल नै रहेको छ।

    तीन दिने बाढी पूर्वानुमान अनुसार कोशी जलाधारका सप्तकोशी (चतरा), तमोर (त्रिवेणी), अरुण (सिम्ले), दुधकोशी (रभुवाबजार), तामाकोशी (बुस्ती) र सुनकोशी (हम्पचुवार) मा जलसतह उल्लेख्य बढ्नेछ। त्यसैगरी नारायणी जलाधारका नारायणी (देवघाट), त्रिशूली (बेत्रावती), बुढीगण्डकी (आरुघाट), मस्र्याङ्दी (विमलनगर), सेती (दमौली) र कालिगण्डकी (कुमालगाउँ) मा पनि तीनै दिन जलसतह उल्लेख्य बढ्ने अनुमान गरिएको छ।

    कर्णाली जलाधार अन्तर्गत कर्णाली (चिसापानी), कर्णाली (असाराघाट), भेरी (समजिघाट) र पश्चिम सेती (दिपायल) मा तीन दिनसम्मै जलसतह उल्लेख्य बढ्नेछ। महाकाली (पारिगाउँ), कन्काई (मैनाचुली) र पश्चिम राप्ती (कुसुम) नदीमा पनि भदौ २४ देखि २६ गतेसम्म बहाव उल्लेख्य बढ्ने देखिन्छ।

    कमला नदी (वेलसोत) मा आज र भोलि जलसतह उल्लेख्य बढ्ने तथा पर्सि सामान्य बढ्ने पूर्वानुमान छ। बागमती (पधेरादोभान) र पूर्वी राप्ती (रजैया) मा आज जलसतह सामान्य बढ्नेछ भने भोलि र पर्सि उल्लेख्य बढ्नेछ। बबई नदी (चेपाङ) मा तीनै दिन जलसतह उल्लेख्य बढ्नेछ।

    महाशाखाका अनुसार आज ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुली, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, सिन्धुपालचोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, रुकुम पूर्व, गुल्मी, अर्घाखाँची, प्युठान, रोल्पा, दाङ, डोटी, डडेलधुरा र आसपासका जिल्ला भई बहने स-साना नदीहरूमा बहाव उल्लेख्य बढ्नेछ। यी क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ।

    भोलि र पर्सि सातै प्रदेश भई बहने केही स-साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar