जेनजी शहीदहरूको स्मृतिमा कमन जेनजीद्वारा दीप प्रज्वलनसहित श्रद्धाञ्जली

  • कालिका खवर
  • मङ्लबार, भदौ २३, २०८३
  • काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मृति तथा सम्मानमा कमन जेनजी नेपालले आज काठमाडौंको नयाँ बानेश्वरमा दीप प्रज्वलनसहित श्रद्धाञ्जली कार्यक्रम गरेको छ । आन्दोलनको क्रममा जीवन बलिदान गर्ने जेनजी शहीदहरूप्रति सम्मान व्यक्त गर्दै आयोजित कार्यक्रममा कमन जेनजीका अध्यक्ष विकेश साहसहित विभिन्न जेनजी अभियन्ता तथा युवाहरूको सहभागिता रहेको थियो ।

    कार्यक्रममा सहभागी युवाहरूले शहीदहरूको सम्झनामा दीप प्रज्वलन गर्दै उनीहरूको बलिदानलाई स्मरण गरेका थिए । सहभागीहरूले शहीदहरूले उठाएका आवाज, उनीहरूले अघि सारेका माग तथा आन्दोलनको उद्देश्य अझै पूर्ण रूपमा सम्बोधन हुन नसकेको भन्दै चिन्ता र आक्रोश व्यक्त गरेका थिए ।

    कार्यक्रमलाई सम्बोधन गर्दै कमन जेनजीका अध्यक्ष विकेश साहले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको बलिदानलाई केवल स्मरणमा सीमित गर्न नहुने बताए । उनले शहीदहरूले उठाएका मुद्दा र मागलाई राज्यले गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्नेमा जोड दिँदै आन्दोलनको उद्देश्य पूरा नभएसम्म युवाहरूको संघर्ष निरन्तर जारी रहने चेतावनी समेत दिए । जेनजीले उठाएका मुद्दा र मागलाई वर्तमान सरकारले सम्बोधन गर्नमा पूर्णरुपमा असफल भएको टिप्पणी उनले गरे ।

    अध्यक्ष साहसहित सहभागी जेनजी अभियन्ताहरूले आन्दोलनको एक वर्ष बितिसक्दा पनि शहीदका परिवार, घाइते तथा आन्दोलनकारी युवाहरूले उठाएका सवालहरू पर्याप्त रूपमा सम्बोधन हुन नसकेको गुनासो गर्दै वर्तमान सरकारप्रति आक्रोश व्यक्त गरे । उनीहरूले राज्यले आन्दोलनका क्रममा उठेका माग तथा त्यसपछिका प्रतिबद्धतालाई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने बताएका थिए।

    कार्यक्रममा सहभागी युवाहरूले जेनजी आन्दोलन कुनै व्यक्ति वा समूह विशेषको स्वार्थका लागि नभई देशमा परिवर्तन, सुशासन, जवाफदेहिता, भ्रष्टाचारको अन्त्य तथा युवाको भविष्य सुनिश्चित गर्ने उद्देश्यले अघि बढेको जनाएका छन् । उनीहरूले आन्दोलनका क्रममा भएका घटनाको निष्पक्ष समीक्षा तथा शहीदहरूको योगदानको उचित सम्मान र अभिलेखीकरण गर्नुपर्ने मागसमेत गरेका थिए ।

    दीप प्रज्वलनका क्रममा सहभागीहरूले शहीदहरूको तस्वीर तथा स्मृतिसामु मौनधारण गर्दै उनीहरूको योगदानप्रति सम्मान व्यक्त गरेका थिए । बानेश्वरमा भेला भएका युवाहरूले शहीदहरूको सपना र आन्दोलनको भावना जीवित राख्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
    ‘महान् जेनजी शहीदहरू, हामी तपाईंहरूलाई सम्झिरहनेछौँ, तपाईंहरूको बलिदान खेर जान दिनेछैनौँ’ भन्दै सहभागीहरूले शहीदहरूप्रति श्रद्धा व्यक्त गरेका थिए ।

    कार्यक्रममा वक्ताहरूले शहीदहरूको बलिदानले देशको राजनीतिक तथा सामाजिक परिवर्तनका लागि नयाँ पुस्तालाई थप जिम्मेवार बनाएको उल्लेख गर्दै उनीहरूले देखाएको बाटो र उठाएका सवाललाई निरन्तर बहस तथा अभियानको विषय बनाउनुपर्नेमा जोड दिए ।

    भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण संघर्षका कार्यक्रम स्थगित गरेर बाढीपीडितलाई राहत, उद्धारमा जुटेको कमन जेनजी नेपालले शहीदहरूको स्मृतिलाई आगामी दिनमा पनि निरन्तर जीवन्त राख्ने तथा युवाका मुद्दालाई संगठित रूपमा अघि बढाउने जनाएको छ । कार्यक्रममा सहभागी युवाहरूले राज्यले युवाको आवाज सुन्नुपर्ने, आन्दोलनका क्रममा उठेका मागहरू सम्बोधन गर्नुपर्ने र शहीद परिवार तथा घाइतेहरूको उचित सम्मान र संरक्षण सुनिश्चित गर्नुपर्ने माग दोहो¥याएका छन् ।

    दीप प्रज्वलन कार्यक्रम शहीदहरूप्रति श्रद्धाञ्जली अर्पणसँगै युवाहरूले आफ्नो संघर्ष, प्रतिबद्धता र जिम्मेवारीलाई पुनः स्मरण गर्ने अवसरका रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar